×

देउवा निवास धुम्बाराहीमा प्रधानमन्त्री प्रचण्ड, विश्वासको मत दिने देउवाको संकेत

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सोमबार भेट भएको छ। प्रचण्ड देउवालाई भेट्न उनको निवास धुम्बाराही नै पुगेका थिए। 

आफूलाई विश्वासको मत दिन आग्रह गर्दै सोमबार साँझ प्रचण्ड कांग्रेस सभापति देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेका हुन । साँझ देउवा निवास पुगेका प्रचण्डले गठबन्धन टुटे पनि आफूले कांग्रेससँगको गठबन्धनबाट जितेको नभुलेको भन्दै विश्वासको मत दिन आग्रह गरेका थिए ।

देउवाले भोलि संसदीय दलको बैठक बसेर निर्णय गर्ने आश्वासन प्रचण्डलाई दिएका छन् । प्रचण्डले कांग्रेसबाट विश्वासको मत पाए राष्ट्रिय सहमतिको सन्देश जाने र चुनावसम्म कायम रहेको गठबन्धनको औचित्य पनि पुष्टि हुने बताएका थिए ।

मंगलबार प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । सो भेटवार्तामा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पनि सहभागी रहेको बताईएको छ । कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर भोलिका दिनमा पनि सहकार्यको सम्भावना जिवित राख्न खोजेको छ। 


 

सोमबार २५ पुस २०७९ ०८:५० PM मा प्रकाशित

प्रतिक्रिया