×

कांग्रेस-एमाले मिलेर सरकार बनाउनुपर्छ: विजयकुमार गच्छदार

images

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री विजयकुमार गच्छदारले नेपाली कांग्रेस र एमाले मिलेर सरकार गठन गर्नुपर्नेमा जोड दिएका छन् । विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै उनले अहिलेको जनादेशले देश अस्थिरतातिर जाने हो कि भन्ने चिन्ता लागेको भन्दै दुई ठुला पार्टी मिलेर देशलाई अस्थिरतामा जानबाट रोक्नुपर्ने बताए । सुनसरी क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौधरीसँग प्रतिनिधि सभा चुनाव हारेका गच्छदारले अस्थिरताको चिन्ता लागेकोले अब कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने बताए।

‘कसैको पनि बहुमत आएन। अस्थिरताको चिन्ता बढेको छ। यस्तो अवस्थामा कांग्रेस र एमाले मिलेर सरकार बनाए भने म खुसी हुनेछु,’ गच्छदारले भने।आफू काठमाडौं फर्केपछि कांग्रेस र एमालेको सरकार बनाउन पहल थाल्ने उनले बताए। उनले प्रधानमन्त्री भने अब पनि कांग्रेस सभापति शेरबहादुर देउवा नै हुने बताएका थिए। ‘पुस्तान्तरण प्राकृतिक कुरा हो, हुँदै जान्छ। तर अहिले सभापति शेरबहादुर देउवाजीले नचाहेसम्म पुस्तान्तरण सम्भव छैन,’ उनले भने।

आफूले चुनाव हारेकोबारे प्रसंग निकाल्दै गच्छदारले जसपा अध्यक्ष उपेन्द्र यादवले चार हजार मत सूर्यमा हाल्न लगाएको बताए। ‘म तीन हजार मतले पराजित भए। उपेन्द्रजीले चार हजार मत सिधै सूर्यमा हाल्न लगाउनु भयो। त्यही भएर म हारेँ,’ उनले भने। जसपा र एमालेबीच चुनावी तालमेल थियो।

‘मेरो ५० वर्ष लामो राजनीतिक इतिहासमा जे कुरा देखिरहेको छु, म त्यति सन्तुष्ट छैन,’ गच्छदारले भने, ‘हामी धेरै चुकेका छौँ, त्यसकारण नेपाल धेरै अलमलियो, अहिले पनि राजनीतिक स्थिरता आउँदैन कि भन्ने चिन्ता लागेको छ ।’

०५१ सालमा आएको अहिलेकै जस्तो जनादेशका कारण मुलुक अहिलेसम्म अस्थिरतामा रुमल्लिइरहेको गच्छदारको दाबी थियो । ‘एक पटक ठुला पार्टी मिलेर जसरी ०४६ सालमा प्रजातन्त्र ल्याए, ०६२÷०६३ मा सामन्ती राजतन्त्र अन्त्य गरे, त्यसरी नै अहिले आउन लागेको अस्थिरतालाई अन्त्य गर्न र मुलुकलाई फड्को मार्नका लागि नेपाली कांग्रेस र एमाले पार्टी मिलेर पाँच वर्ष सरकार चलाए हुने थियो भन्ने मेरो इच्छा हो,’ गच्छदारले भने ।

उनले उपेन्द्र यादवको कारण अस्थिरता आउन लागेको पनि आरोप लगाए । ‘मैले उपेन्द्र यादवसँग लामो कुरा गरेको छु, जसपासँग लामो कुरा गरेको छु, दुई पटक कुरा गरेको छु । मैले उहाँलाई भनेको छु, मधेस आन्दोलनको जस उपेन्द्र यादवले पाउँछ, तर कांग्रेस नेतृत्वको गठबन्धन छोडेर एमालेतिर किन जानु भयो, अब सच्याउनु होस् भनेर भनेको छु,’ गच्छदारले भने, ‘तपाईको कारणले अस्थिरता आउने भयो भनेर मैले भनेको छु ।’

यदि उपेन्द्र यादवको पार्टी पनि कांग्रेससहितको गठबन्धनमा हुन्थ्यो भने यो अवस्था आउने थिएन भन्ने गच्छदारको तर्क थियो । ‘मधेस आन्दोलनको बेलामा सबैभन्दा बढी मधेस विरोधी भनेर केपी ओलीलाई भन्ने अनि चुनावको बेलामा उहाँसँगै मिल्ने कुरा ठीक थिएन । मैले चुनाव हार्नुको कारण पनि उपेन्द्र यादव नै हो,’ उनले भने ।

गच्छदारले पाँच दलीय गठबन्धन संविधान रक्षाको लागि र केपी ओलीको कदमको विरुद्धमा बनेको बताउँदै त्यो गठबन्धनको बहुमत हुने बित्तिकै स्थिरता आउँछ भन्ने आफूले नदेखेको उनले बताए ।

कांग्रेस र एमालेको सरकार बन्दा माओवादी वा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिपक्षी बन्न सक्ने उनले बताए । ‘प्रतिपक्षी नहुने भन्ने कुरै हुँदैन,’ के तपाईले प्रतिपक्षी \विहीन सरकार बनाउन खोज्नु भएको भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘तेस्रो पार्टी छैन र ? कांग्रेस र एमालेको सरकार बन्यो भने प्रचण्डजीको पार्टी छैन र ? प्रचण्डजी पनि मिल्ने हो भने घण्टीको पार्टी छैन र ? त्यसकारण प्रतिपक्षी नहुने कुरै हुँदैन नि ।’

अर्को प्रसंगमा उनले आफूले २०८९ सालमा सक्रिय राजनीतिबाट विश्राम लिने बताए । ‘८० वर्षको व्यक्ति भर्खरै चुनाव जितेर आउनु भएको छ । मेरो पार्टीको सभापति ७७ वर्ष उमेरको हुनुहुन्छ । उहाँ फेरि प्रधानमन्त्री बन्दै हुनुहुन्छ । अनि रामचन्द्र पौडेल पनि पुग नपुग ७८ वर्षको हुनुभयो,’ तपाई राजनीतिबाट विश्राम लिने होइन भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘हिंजोमात्र मैले चित्रबहादुर केसीको अन्तरवार्ता सुनिरहेको थिएँ ।

उहाँ पनि ७९ वर्षको हुनुहुन्छ । हाम्रो नेता शेखर कोइराला ७३ वर्षको हुनुभयो । म त भर्खरै ६९ वर्ष भएँ । ७७ वर्ष पुग्न त अझै ८ वर्ष लाग्छ । म ठ्याक्कै तपाईलाई भन्छु २०८९ मा म रिटायरमेन्ट हुन्छु ।’

बिहीबार २२ मंसिर २०७९ ०८:४९ PM मा प्रकाशित

प्रतिक्रिया