×

नेपालले पनि ग्रेटर नेपालको सांस्कृतिक नक्सा जारी गर्नुपर्छ: गगन थापा

images

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली भूमि लिम्पियाधुरा र लिपुलेक कसैले खोस्न नसक्ने बताएका छन् । उनले भने,‘हाम्रो भूमि लिम्पियाधुरा र लिपुलेक कसैले खोस्न सक्दैन् । हामी खोस्न पनि दिँदैनौं ।’ आज (बिहीबार) विराटनगर विमास्थलमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै थापाले यस्तो बताएका हुन् ।

महामन्त्री थापाले भारतले आफ्नो सांस्कृतिक नक्सा जारी गरेर नेपाल समेट्न सक्छ भने नेपालले पनि ग्रेटर नेपालको सांस्कृतिक नक्सा जारी गर्ने अधिकार प्रयोग गर्ने उल्लेख गरे । उनले नेपाली भूमि लिपुलेक र लिम्पियाधुरा भारतले छोड्नुपर्ने र बंगलादेश जाने बाटो दिनुपर्ने बताएका छन् ।

उनले भने,‘लिम्पियाधुरा, लिपुलेक नेपालले साट्ने लगायतका विकल्पमा सोचेर आफ्नो पोजिसन कमजोर पार्ने कुनै कारण छैन, नेपाल भूपरिवेष्ठित देश भएकाले बंगलादेश जाने बाटो पाउने अन्तर्राष्ट्रिय अधिकार कसैले हनन गर्न पाउँदैन ।’ फरक प्रसंगमा महामन्त्री थापाले अब पार्टी सभापतिको बाटो हेरेर नबस्ने बताए।

‘सभापतिले गर्नुहुन्छ भनेर बाटो हेरेर बस्दैनौं,’ उनले भने। सभापतिको एकल अधिकार बाहेकका कुनै पनि काम अब बाँकी नराखी अगाडि बढ्ने उनले बताए।

‘कति काम पार्टीको सभापतिले मात्रै गर्न पाउने व्यवस्था छ। केन्द्रीय कमिटीको बैठक सभापतिले मात्रै बोलाउनु पाउनुहुन्छ। मैले बोलाएँ भने पार्टी अप्ठ्यारोमा पर्छ। तर लामो समयदेखि बैठक बसेको छैन। हामीले सभापतिलाई बैठक बोलाउनुहोस् भनेर दबाब दिनुपर्छ,’ उनले भने।

बिहीबार २५ जेठ २०८० ०१:५० PM मा प्रकाशित

प्रतिक्रिया