×

दुर्गा प्रसाईको ‘कालोमोसो’ अभियान दस्ताका संयोजक पक्राउ

images

चितवन ।  व्यवसायी दुर्गा प्रसाईको ‘कालोमोसो’ अभियान दस्ताका केन्द्रीय संयोजक शम्भु थापा चितवनबाट पक्राउ परेका छन्। थापालाई भरतपुरबाट नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले मालपोत कार्यालय नजिकै रहेको चिया पसलबाट मंगलबार उनलाई नियन्त्रणमा लिएको हो। 

बैंक तथा वित्तिय संस्थाविरुद्ध अफवाह फैल्याएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक सुवास भट्टले बताए। दुर्गा प्रसाई पछिल्लो समय बैंक तथा वित्तिय संस्थाको कर्जा नतिर्ने अभियान चलाइरहेका छन्। उनले फागुन १३ गते चितवनमा सभा गरेका थिए। प्रसाईंले धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको नाममा देशका विभिन्न ठाउँमा सभा गरी कालोमोसो दस्ता बनाएका छन्।

केही दिनअघि चितवनको नारायणी नदी किनारमा सभा गरेपछि भरतपुर विमानस्थलबाट कालोमोसो दस्ता घोषणा गरिएको थियो। यो दस्ताले बैंक तथा वित्तीय संस्थालाई निसाना बनाउने बताउँदै आएको छ। प्रहरीले बिहीबार म्याद थप गरेर थप अनुसन्धान अगाडि बढाउने तयारी गरेको छ। प्रसाईको धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको चितवनका एक सदस्य ले थापालाई पक्राउ गरिएको पुष्टि गरे।

 संयोजक बनेका थापाले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने घोषणा गरेका थिए । प्रसाईं चितवन आएका दिन उनको नेतृत्वमा कालोमोसो लेखिएको टिसर्ट लगाएर युवाहरु परिचालन गरिएको थियो ।

पक्राउ परेका थापालाई रिहा गर्न अभियानले आग्रह गरेको छ। नछाडिएमा आन्दोलन थाल्ने चेतावनी पौडेलले दिएका छन्।  

बुधबार २४ फागुन २०७९ १२:०५ PM मा प्रकाशित

प्रतिक्रिया