×

सभामुख सापकाेटालाई महाअभियाेग लगाउने परिस्थिति आउनसक्छ : महेश बस्नेत

images

 

नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले सभामुखलाई महाअभियोग लगाउने परिस्थिति सिर्जना हुनसक्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद बस्नेतले यस्ताे बताएका हुन् ।

उनले नेकपा एमालेमा १०० जना सांसद महाअभियोग लगाउने कुरामा स्ट्याण्डबाइ रहेको भन्दै पार्टीले संख्या पुर्‍याउने पहल गरेमा सभामुखलाई महाअभियोग लगाउन सकिने टिप्पणी गरे ।

सांसद बस्नेतले भन्नुभयो, ‘एमालेले सभामुखज्यूलाई महाअभियोग दर्ता गरेर सेफ ल्याण्डिङ खोजोस् भन्ने कतिपय बुद्धिजीवीहरूको सुझाव पनि छ । अस्ति एउटा कार्यक्रममा डा. मीनेन्द्र रिजाल र म सँगै थियौँ । उहाँले पनि त्यो भन्नुभयो । एमालेले महाअभियोगको प्रश्ताव दर्ता गरोस्, पास वा फेल हुने एउटा कुरा भयो । त्यसपछि सदनलाई सुचारु गर्ने कुरामा एउटा सेफ ल्याण्डिङको विषय हुनसक्छ भन्ने पनि आएको छ । त्यो बारेमा नेकपा एमालेले अहिलेसम्म कुनै ठोस निर्णय गरिसकेको छैन । त्यसैले यो नै हुनसक्छ भन्न म सक्दिनँ, तर एउटा विषय त्यो पनि हुनसक्छ । हामी सय जना स्ट्याण्डबाइ छाैँ, जुन बेला पनि सही गर्न तयार छाैँ । ’ 

सांसद बस्नेतले बुधबारबाट सदन सुरु हुने भएको बताउँदै त्यसमा नेकपा एमालेको भूमिका आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदलाई कारबाही नगरे संसदमा बिरोध जारी रहने बताए ।

उनले भने, ‘भोलिदेखि सदन सुरु हुन लागेको छ ।  म सभामुखज्यूलाई फेरि पनि अनुरोध गर्न चाहन्छु, विद्यमान ऐन, कानुनलाई सम्मान गर्नु उहाँको धर्म हो र उहाँ प्रतिनिधिसभाको अभिभावकको हिसाबले भुमिका खेल्नुपर्छ । दलहरूको बीचमा पक्षपातपूर्ण व्यवहार गर्नुहुँदैन ।  हामीले कारबाही गरेका गैरसांसदहरू जो हुनुहुन्छ, उहाँले उनीहरूलाई सभामुखको हैसियतले सूचना टाँस गर्ने अधिकारलाई दुरुपयोग गर्दै न्यायाधीशको ढंगले जुन क्षमादान दिनुभएको छ, त्यो कुरा उहाँको अधिकारको कुरा होइन । एमालेले कारबाही गरेका १४ जना सांसदलाई कारबाही नगरे संसदमा बिराेध जारी नै रहन्छ । म सभामुखज्यूलाई बल प्रयोग गरेर सदन जबरजस्ती चलाउने र एमालेलाई कमजोर बनाउने भूमिका नखेल्न अनुरोध गर्न चाहन्छु ।’

यसैगरी सांसद बस्नेतले स्थानीय तहकाे निर्वाचनमा नेकपा एमालेले एक्लै प्रतिष्पर्धा गर्ने पनि बताए।

मङ्गलबार २५ माघ २०७८ ०२:५० PM मा प्रकाशित

प्रतिक्रिया