×

निबन्ध : कहाँ देख्नु आफैलाई ?

images

श्रीओम श्रेष्ठ ‘रोदन’
बस्न त कुर्सीमा नै बसिरहेको छु तर पनि निकै थाकेको छु । परिश्रम विनाको थकाइले जितेको छ यतिखेर मलाई । योजना विनाको आकस्मिक भोगाइले भरिएको छु । कुनै यस्ता समस्या हुन्छन् जसलाई टाढैबाट देखिंदा त्यसको प्रभावको तौल घटिसकेको हुन्छ । तर एकैपटक जम्काभेट हुने समस्याले भने दिनसम्मको दुःख दिएरै  छाड्छ । खुशी टाढिएर दुःखले भरिएको बेला अनुशासित राख्न सक्नुपर्छ आफैलाई । संयमता गुम्यो भने समस्या झन् गाँठो पर्दै जानसक्छ । यो समयसँगको एउटा पाठ हो । आफैसँगको चुनौती पनि हो ।

मलाई विश्वास छ नैतिकतामा पैह्रो नजाउन्जेल जतिपटक लडे पनि उठ्न सकिन्छ । समाजमा शिर ठाडो पारेर हिंड्न सकिन्छ । यो हाँक पनि हो । तर यसमा पनि कृतिमताका लेपन लाग्न थालिसकेका छन् । के सक्कली के नक्कली ? छुटयाउनै नसकिने गरी ।
विस्तारै आँखा खोल्छु । केही मिटर टाढा बत्तीले चल्ने भुइँ अगाडि बढिरहेको छ । कोही ठिङ्ग उभिरहेका छन् । कोही फटाफट हिंडिरहेका छन् । हतारमा हुनेहरुलाई गति कम भएको हुनसक्छ । फुर्सदकाहरुलाई गति बढी लाग्न सक्छ । हुन त यहाँ फुर्सदिला कमै देखिन्छन् यतिखेर । मात्र हामी हौ कि जस्ता छौं फुर्सदै फुर्सदका । 

यो अन्तर्राष्ट्रिय विमानस्थल हो । यहीं आउने र यहाँबाट जानेहरु मात्र होइन यहीं भएर आ–आफ्नो गन्तव्य पुग्नेहरु पनि धेरै छन् यहाँ । तोकिएको समयमा तोकिएकै ठाउँमा पुग्न नसके हाम्रै नियति भोगेर फुर्सदिलो बन्नु पर्ने हुन्छ । हामी पनि हतारिनसम्म हतारिएर फुर्सदिला बनेका त हौं नि ।

हुन् त अहिले कसलाई पो फुर्सद हुन्छ र ? सबैको व्यस्तता ,सधैंको व्यस्तता । यहाँ मात्र हो र ? जहाँ गए पनि त्यस्तै । धर्म गर्न मन्दिर, मस्जिद, चर्च, गुम्बा जहाँ गए पनि त्यस्तै । अस्पताल गए पनि ,खेल मैदान गए पनि । खुल्ला ठाउँमा चटक देखाउने होस् वा रमिता हेर्नेहरु होस् सबै व्यस्त छन् । मर्नेहरु मात्र होइन मार्ने आत्मघातीहरु पनि त्यत्तिकै व्यस्त छन् । आधुनिकता भनेको, विकास भनेको यस्तै पो हो कि ? मान्छेलाई मान्छेजस्तो बनाइ नराख्ने आफ्नोभन्दा अरुबाट बढी नियन्त्रित हुने । यही र यस्तै प्रविधिले त हो नि मान्छेमा मान्छेत्व हराउँदै गएको । भावना घटेर औपचारिकता बढ्दै गएको । हाँसो घटेर आँसु बढ्दै गएको । पाएकोजस्तो देखिए पनि खोसिंदै गएको ।

यही भएर त हो नि पहिलेको जस्तो हार्दिकता कहाँ पाइन्छ र अचेल ! अरु त अरु । एउटै घरछानामा बसेका एकै परिवारकोमा समेत हार्दिकता महङ्गो बन्दै गएको छ । भेट हुने तर मनले नहुने । कुराकानी पनि मुखैले मात्र । जोखेर बोलेजस्तो थोरै थोरै मात्र । घरभरिका परिवार कोही टुइटरमा, कोही मेसेन्जरमा, कोही इमेलमा, कोही सिरियलमा, कोही पत्रिकामा, कोही फोनमा, कोही एफएममा । फुर्सदमा कोही कसैलाई हुँदैन् । जेमा टाँसे पनि टाँसेको टाँस्यै । अनि कसरी बढ्छ प्रेम आफूआफूमा ? कसरी बढ्छ सद्भाव एकआपसमा ? मानिसको गणना बढ्दै गएर के गर्नु, प्रेमको आयु घट्दै गएपछि ।

टर्कीको इस्तानाबुल विमानस्थलको लहरे कुर्सीमा छौं यतिखेर हामी । दुई हप्ता अघि यहीं ठाउँमा दुई घण्टा बसेर बेल्जियम गएका थियौं । हाम्रो दुई हप्ते अभिलेख यही हो ।

ठ्याक्कै चौबीस घण्टा बिताउनुपर्ने भएको छ यही ठाउँमा । समय धेरै छ तर काम केही छैन । जिम्मेवारी केही छैन । कुनै बहाना पनि छैन । अरुका भावनालाई नापजोख गर्न सकिंदैन तर म भने एक प्रकारले शून्य भएको छु । मात्र शून्य ।
यो फुर्सदको कारण हामी होइनौं । तर सँजाय भोग्ने हामी नै भएका छौं । कठघरामा चिच्याउँदा चिच्याउँदै अन्याय सहन परेजस्तै । नियति, शायद यस्तै हुन्छ ।

हामी त आफ्नो ठाउँ टेक्न हतारिएका थियौं । दुई हप्ता नछोएको नभेटेको आफ्नो माटो भेट्न त्यसै पनि आतुर थियोैं । आफ्नो भनेको आफ्नै हँुदोरहेछ । मित्र रमण घिमिरेको गीतजस्तै । मन पराउने हजार भेटिन्छन् तर मायाँ गर्ने एउटै हुन्छन् । रुवाओस् धरधरी रुवाओस्, आफ्नो मान्छे आफ्नै हुन्छ भनेजस्तै आफ्नो भन्ने कुरा जुनै सन्दर्भको भए पनि आफ्नै हुन्छ । आफ्नो स्वाद अरुले दिनै सक्दैन । आफ्नो तृष्णा कसले पो मेटाउन सक्छ र ?

भनिएकै समयमा आएर हामी विमानमा उड्न ठीक परेर बसेका थियौं । तर उडायो ढिलो र बिसायो पनि ढिलो नै । गर्नु के हामीले ? एक प्रतिशत पनि तलमाथि गर्ने हैसियत हाम्रो हैन । पुग्नुपर्ने ठाउँमा पुगेपछि कम दौडेका थिएनौं । सासै रोकिएला जस्तो गरी । आ–आफ्नो घडीलाई समातेर समयलाई रोक्न सकिने भएको भए वा आ–आफ्नो घडी रोकेर सबैतिरको घडी मिलाउन सक्ने भएको भए यो चौबीस घण्टे कुराइमा पर्ने थिएनौं हामी । तर गर्नु के ? समय हो, बलवान छ सबैभन्दा । कसको के लाग्छ  र ? समयले मानिसलाई हसाउँछ पनि र रुवाउँछ पनि । तर समय समय नै हो ।

दौडाउन पनि कम दौडाए र मोरा तुर्किसहरुले । कसैलाई सोध्यो बोल्नै नजान्ने । कोही बोल्नै नचाहने । अलिअलि सहयोगीजस्तो अलिअलि मात्र बोल्न जान्ने । आफै अलमलिएका उनीहरु कहिले यता देखाइदिने, कहिले उता देखाइदिने । हामी भने रिमोटको रोबोटजस्तै दौडेको दौड्यै ।

हुन त भएपछि गर्न के पो सकिन्छ र ? जे भए नि गल्ती हाम्रो थिएन र होइन । हाम्रो जिकिर यति मात्र हो । त्यसैले न्यूनतम भए पनि सुविधा पाउन पर्छ भन्ने दाबी हाम्रो । दुःखको हिसाब त गरेको होइन । नियमको कुरा हाम्रो तर अन्तर्राष्ट्रिय नियममा पनि ग्रहण लाग्दो रहेछ । त्यस्तै ठान्यौं हामीले । यो लिने मामला कहीं सजिलो नहुँदो रहेछ । लिने पो नियमले फरक पार्दैन । दिनेमा त नियम पनि आफै फरक बनिदिँदो रहेछ ।

हामी त हाम्रो चौबीस घण्टा समयको पनि हिसाबकिताब हुनुपर्छ भन्ने पक्षका हौं । खोज्ने हामीहरु नदिने उनीहरु । केही नलागेपछि बसेका हौं कुर्सीमा थकाइ नलागे पनि थाकेर ।

अगष्ट महिनाको सखारै । अझै पनि अगाडि बढिरहने भुइँको भीड कम भएको छैन । न गर्मी न चिसोको ठाउँ हो यो । तर कोही निकै गर्मी लागेजस्तो गरी छोटोछोटा लुगामा छन् । कोही निकै जाडो लागेजस्तो गरी शिरदेखि पाइतालासम्म गम्लङ्गै छोपेका छन् आफूलाई । आँखा बाहेक सबै छोपेका छन् कालो कपडाले । यो कस्तो पर्दा हो ? जस्तै विकास र जस्तै विज्ञानले पनि हटाउन नसक्ने । मान्छे जुन जात, जुन धर्म, जुन वर्ण, जुन भूगोल, जून संस्कृतिको भए पनि मान्छे त मान्छे नै हो नि ।

तर यत्रो विभेद किन ? त्यो पनि स्वास्नीमान्छेमा मात्र । मलाई रिस उठ्छ, विभेद गर्ने धर्म देखेर । धर्म त जे जे नामको भए पनि एउटै हुनुपर्ने होइन र ? को पो होला यस्तो अन्याय गर्ने धर्मको विरुद्धमा लड्नसक्ने ? मान्छेलाई सबैतिर मान्छेजस्तो समान व्यवहार गर्ने एउटै धर्म भए कस्तो हुन्थ्यो होला हगि ?

कोही गीता छोएर झूठो बोल्ने । कोही बाइबल छोएर अपराध गर्ने, कोही कुरान छोएर आत्मघात गर्ने । त्रिपिटक भने पनि, धम्मपद भने पनि ,सबै त्यैस्तै त्यस्तै त रहेछ, नि  होइन र ?

यी सबै लाइसेन्स रहेछन् नगर्नु पर्नेहरुले गर्नका लागि । जे जेको नाम भए पनि विश्वासमा किला ठोकेपछि कहाँ सजिलै उप्काउन सकिन्छ र ? आखिर गर्ने र गराउने त सबै समय नै हो नि । जहाँ र जुन ठाउँको भए पनि हिंड्ने गोरेटा र बस्ने चौताराहरुमा स्वार्थ र अहँकारको मन्त्र टाँसिएपछि ।

म त भन्छु । मान्छे, मान्छे भएर बाँच्न केही गर्नै पर्दैन । जान्नु पर्दछ मात्र समयलाई जान्नु पर्दछ । अन्यथा अरुका छाती छामेर आफूलाई कहाँ जाँच्न सकिन्छ र ? आफ्नो मन भएर बग्ने भुइँचालोको सानोसानो गतिको लय सुन्न सक्नुपर्छ । देख्न सक्नुपर्छ । त्यसका लागि आफूलाई पूर्ण तयार पार्नुपर्छ ।

आफ्नो लय सुन्न र बुझ्न सबैभन्दा पहिले देखिने आँखा बन्द गर्नुपर्छ । यो कुनै ठूलो कुरो होइन । देखिने आँखा बन्द गरेर नदेखिने आँखा बन्द गर्नसक्नुपर्छ । सकेसम्म गहिरो गरेर आफूलाई खनेपछि हेर्नुपर्छ भित्र, भित्रसम्म । देखिने मात्र होइन नदेखिने ठाउँसम । त्यसपछि बल्ल देखिनेछन्, पत्रैपत्र बनेर बसेका माया, मोह, लोभ, अहँकारहरु । ती सबै पत्रहरुलाई पुस्तकझैं पल्टाउँदै पल्टाउँदै पढ्न सकियो भने मात्र देखिने छ आफूले आफूलाई । अनि मनाउन सकिनेछ जीवनका उत्सवहरु र सुनिनेछन् जीवनका बजिरहने सङ्गीत ।

त्यही भीड हेरेर हराइरहेको छु म । यही नै मेरो यतिखेरको एक मात्र काम हो । भुई एकनासले दौडिरहेको छ । कोही ठिङ्ग छन् । कोही पाइताला बढाइरहेका हुन् । कोही मोबाइलमा कुरा गरिरहेका छन् । कोही अरुका फोटा लिइरहेका छन्, कोही आफ्नै । कोही बच्चा समातिरहेका छन् । कोही सुटकेश गुडाइरहेका छन् । लाग्छ, यो एउटा प्रदर्शनी हो र म यसको इमान्दार दर्शक ।
जुनसुकै देशका भए पनि मात्र यात्र हुन् विमानस्थलको । फरक फरक छन् गन्तव्यहरु । लक्ष्य फरक होलान् । प्राप्ति फरक होलान् । उद्देश्य फरक फरक भए पनि हतारो सबैको एउटै छ ।

कुनै एक पात्रजस्तै यतिखेर हतारले हिंड्न पाए कस्तो हुन्थ्यो होला ? लाग्छ मनमा । भीडमा एकान्त भएर हराउँन खोज्छु म । हिडं्नु नपर्ने यात्रु म । फुसर्दिलो यात्रु म । केही नपाएर आफै आफूसँग लुकामारी खेलिरहेको मान्छे म । कुनै चासो छैन कसैलाई । अर्थहीन छु अरुसँग । मलाई सबेरैको बिहान पनि घमण्डी र उत्ताउलो लाग्नथाल्छ ।

सहयात्रीहरु कोही स्थीर छैनन् । कोही घर सम्झेर यो पीडासमय बिर्सिरहेका छन् । कोही बिहान खोज्न गएका छन् । सबैका आ–आफ्नै गुनासा छन् । कोही आँखामा देखाउँछन्, कोही लुकाउँछन् । समूहमा यस्तै हुन्छ प्रायः । 
आफूलाई सबैले उपयुक्त प्रमाणित गर्न खोज्छन् । कमजोर कोही बताउन चाहँदैनन् । दुई एकान दुई, दुई दुना चार, दुई पञ्चे दसको गुणन सुनाइरहन्छन् । तर परिस्थितिले उनीहरुको मस्तिष्कको धरहरा हल्लाइदिने गर्छ । यस्तो आवाज पनि सुन्नुप¥यो, बिचरा ।

‘एउटा प्लेनले पो छोड्यो त अर्को त त्यहीं बसिरहेको छ नि ।’ 
‘हामीलाई छोडेको थाहा पाएपछि लिन आइहाल्छ नि ।’ 
‘हामीलाई जानाजान छोडेर गएको हुनुपर्छ ।’
‘हामी खुरुक्क अर्को प्लेनमा गएर बसिदेउँ त ।’
‘हामी आ–आफ्नो सामान खोज्न जानुपर्छ अब ।’

सन्तान थरिथरीका । तर्क पनि तर्क र भन्या । रुखमा चढेर आकाश छुन्छु भनेजस्तै ।

मानिसहरु आ–आफ्नो धुनमा हिंडेका छन् । कसैलाई कसैको मतलब छैन । कोही उपहार किन्ने र कोही रेष्टुरेन्टमा खाने । सबैको आ–आफ्नो सेडयुल छ । म पनि हतारोमा छु । छिनछिनमा घडी हेर्छु र हतारको संकेत गर्छु । घटाउनुपर्ने घण्टाहरु घट्दैछ कि छैन भनेर । तर के गर्नु ? समयले कसैलाई बुझ्ने भए पो ! कसको समस्या छ, के मतलब ? कसैको सुख बढोस् कि घटोस्, के मतलब ? जसको जेहोस् होस्, के मतलब ! उसलाई मात्र मतलब छ निरन्तरताको । हतारले छिटो चल्ने, फुर्सदले ढिलो चल्ने मान्छे हो र समय । मन त थियो नि समयको पखेटा अलि छिटोछिटो चले हुन्थ्यो भन्ने । 

आकाशमा बदलिरहने बादलजस्तै दृश्यहरु हेरिरहुँ । यी मान्छेहरुका नदेखिएका कथाहरु पनि पढ्नसकुँ भन्ने पनि लाग्नथालेकोे छ एक मन त । किनकि, मैले धेरै पटक देखिने आँखा बन्द गरें तर नदेखिने आँखा बन्द गर्न सकिनँ । म चाहन्थे यो फुर्सदको समयमा आफूले आफूलाई हेरुँ र केही मित्रसम्मका कुराहरु पत्ता लगाउँ । यति धेरै समयमा पनि न आफूले आफूलाई हेर्न फुर्सद पाइयो, न आफूभित्र नै ।
आखिरमा हेर्न भनेको नै अरुलाई त हो नि, आफूलाई हेर्न नसक्नेहरुले । हैन र ? २०७२ कात्तिक १४ गते ।
 

सोमबार २३ पुस २०८० ०३:५७ PM मा प्रकाशित

प्रतिक्रिया