×

कालिगढ सम्मानित, कृति लोकार्पित

images


गण्डकी, २१ कात्तिक : लोकवार्ता परिषद् नेपालको १२औँ संगोष्ठीका अवसरमा काष्ठकलामा पोख्त कालिगढ बागलुङ नगरपालिका–३ निवासी भीमबहादुर विक सम्मानित हुनुभएको छ । बागलुङमा जारी संगोष्ठीमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले उहाँलाई दोसल्ला र सम्मानपत्र प्रदान गर्नुभएको हो । 

    कालिगढी पेसामार्फत परम्परागत ज्ञान र सीपको जगेर्नामा पु¥याएको योगदानबापत विकलाई सम्मान गरिएको संगोष्ठी तयारी समितिका संयोजक प्रा डा दिनबहादुर थापाले बताउनुभयो । ६१ वर्षीय विकले बाउबाजेबाट काष्ठकलाको सीप सिक्नुभएको थियो । विकले काठका मूर्ति बनाउनेदेखि मठमन्दिरका झ्याल, ढोका र टुँडालमा आकर्षक कला भर्दै आउनुभएको छ । 

    उहाँ बागलुङको प्रसिद्ध कालिका भगवती मन्दिरमा काष्ठकलाको काम गरिरहनुभएको छ । औपचारिक तालिमबिना नै हजुरबुबा र बुबाले गरेको काम हेर्दाहेर्दै सीप सिकेर कालिगढी पेसामा लागेको विकले बताउनुभयो । परिषद्ले गरेको सम्मानबाट आफूखुसी भएको उहाँले प्रतिक्रिया दिनुभयो । 

    सोही समारोहमा डा मुकुन्द शर्माद्वारा लिखित अनुसन्धानमूलक कृति ‘तुलनात्मक अध्ययनका आधारहरु ः सिद्धान्त र प्रयोग’को समेत लोकार्पण गरिएको थियो । कुलपति राई, परिषद्का अध्यक्ष प्रा डा प्रेम खत्री, तयारी समितिका संयोजक प्रा डा थापा र लेखक डा शर्माले संयुक्त रुपमा उक्त कृतिलाई लोकार्पित गर्नुभएको हो । 

    सोमबारदेखि सुरु भएको संगोष्ठी आज पनि जारी छ । नेपाली जनजीवनमा प्रचलित संस्कृति, लोककला, साहित्य, संस्कार, रीतिथिति आदि परम्परागत ज्ञानको अध्ययन र संरक्षणको ध्येयले सं्गोष्ठी आयोजना गरिएको तयारी समितिका संयोजक प्रा डा थापाले बताउनुभयो । 

    उहाँका अनुसार संगोष्ठीमा विद्वान तथा विषयविज्ञहरुद्वारा सोमबार २० वटा कार्यपत्र प्रस्तुत गरिएको छ । कार्यपत्रमाथि हुने बहस तथा समीक्षापछि आउने निचोडलाई पुस्तककारका रुपमा प्रकाशन गरिने संयोजक प्रा डा थापाले उल्लेख गर्नुभयो । 

    “सोमबार प्राज्ञिक तथा विद्वान व्यक्तित्वहरुबाट लोकवार्ताका विविध विषय र आयामबारे कार्यपत्र प्रस्तुत भएको छ”, उहाँले भन्नुभयो, “संगोष्ठीको दोस्रो दिन आज जिल्लाका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको स्थलगत अध्ययन भ्रमण तय गरिएको छ ।”

    संगोष्ठीको शुभारम्भ गर्दै कुलपति राईले हजारौँ वर्षदेखि मानव पुर्खाले आर्जन गरेका ज्ञान, जीवन दृष्टिकोण र संघर्षका कथाहरु नै लोकवार्ता भएको बताउनुभयो । 

    “लिखित इतिहास जित्नेहरुको मात्रै हुन्छ, हार्नेहरुको इतिहास लेखिँदैन, उनीहरुको कथा लोकवार्ता र मौखिक ज्ञान, परम्परामा हुन्छ”, कुलपति राईले भन्नुभयो, “नेपालका जातजाति र भाषाभाषीमा प्रचलित लोकआख्यान र लोकवार्ताको खोजी तथा संरक्षण गर्नु आवश्यक छ ।” 

    संगोष्ठीले धवलागिरि क्षेत्रको सभ्यता र संस्कृतिको अध्ययन÷अनुसन्धानमा विद्वान तथा खोजकर्ताहरुलाई प्रेरित गर्ने विश्वास आयोजकले लिएको छ । जसबाट विभिन्न जातजातिको संस्कृति, जीवनशैली, धार्मिकस्थल, प्राकृतिक सम्पदा, कला, साहित्य आदिको उत्थान र संरक्षणमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ । 

    उक्त संगोष्ठीमा नेपाल प्रज्ञा प्रतिष्ठानका पदाधिकारी, विभागीय प्रमुख, लोकवार्ता परिषद्का पदाधिकारीसहित देशका विभिन्न ठाउँबाट आउनुभएका प्राज्ञिक व्यक्तिहरुको सहभागीता रहेको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा आयोजित उक्त संगोष्ठीको सह-आयोजकमा जनकवि केशरी धर्मराज–सावित्री थापा प्रतिष्ठान र प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड रहेको छ । 

    जिल्ला तहमा बागलुङ, गलकोट नगरपालिकासहित विभिन्न स्थानीय तह, सं्घसंस्था लगायतले सहयोग गरेको परिषद्ले जनाएको छ । उक्त संगोष्ठी बुधबार र बिहीबार म्याग्दीमा सञ्चालन हुने जनाइएको छ । 
---

मङ्गलबार २१ कात्तिक २०८० ०५:१२ PM मा प्रकाशित

प्रतिक्रिया