×

हुम्लामा खाद्यान्न अभावः सहरमै थन्कियो दुर्गमको चामल

images

 

सिमकोट, (हुम्ला) २० मङ्सिर ः समयमै ढुवानी नहुँदा हिमाली जिल्ला हुम्लामा खाद्यन्न अभाव देखिएको छ । ढुवानीको जिम्मा पाएका सप्लायर्स कम्पनी र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको लापारबाहीका कारण यहाँ खाद्यान्न अभाव भएको हो । लिमिटेडको सिमकोट शाखामा दुई महिना यतादेखि खाद्यान्न अभाव हुँदै आएको छ । आर्थिक वर्ष २०८०÷८१ मा हुम्लाका लागि १४ हजार क्विन्टल चामल स्वीकृत गरिए पनि हालसम्म ढुवानी हुन नसक्दा यहाँको गोदाम रित्तिएको छ ।

स्थलमार्गबाट चार हजार क्विन्टल र हवाई मार्गबाट १० हजार क्विन्टल ढुवानीका लागि सम्झौता भए पनि सप्लायर्सहरूले समयमै ढुवानी गर्न नसकेको सिमकोट शाखा प्रमुख कृष्ण अधिकारीले बताउनुभयो । स्थलमार्गबाट तीन हजार क्विन्टल चामल ढुवानीको जिम्मा पाएको एलबी सप्लायर्सले अहिलेसम्म ढुवानी गरेको छैन । एक हजार क्विन्टल चामल ढुवानीको जिम्मा पाएको चाङला ढुवानी सेवाले एक सय ४८ क्विन्टल मात्रै उठाएको छ । साउनमा ढुवानीका लागि बोलपत्र आह्वान गरेर भदौदेखि ढुवानी हुनुपर्ने खाद्यान्न हालसम्म सप्लायर्सले ढुवानी गर्न सकेका छैन । लिमिटेडले भदौ महिनामा मात्र ढुवानीका लागि बोलपत्र आह्वान गरेको थियो ।

हाल गोदामा रहेको कम परिमाणको खाद्यान्न पनि बिक्री गर्न सक्ने अवस्थामा नरहेको उहाँले जानकारी दिनुभयो । खाद्यान्न ढुवानी नहुँदा र नागरिकलाई वितरण गर्न नसक्दा आफूलाई रातभर निद्रासमेत नलाग्ने गरेको उहाँले बताउनुभयो । यहाँ एक पटक खाद्यान्न सर्वसाधारण, बजारवासी र कर्मचारीलाई बिक्री तथा वितरण गर्दा दुई हजार पाँच सय क्विन्टल आवश्यक पर्छ । भैपरी आउने कार्य जन्म, मृत्यु र कैदीबन्दीलाई पनि अब चाँडै ढुवानी नभए वितरण गर्न नसकिने अवस्था छ ।

 

बुधबार २० मंसिर २०८० ०४:०७ PM मा प्रकाशित

प्रतिक्रिया