×

संसारमा ३९० दिनको वर्ष कतै  कुनै शास्त्रमा छैन- श्यामसुन्दर राजवंशी (संस्कृतिविद् तथा लिपि विशेषज्ञ)

images

पुरातत्व विभागको लिपि विशेषज्ञ श्यामसुन्दर राजवंशी को जन्म विसं २०१७ साल श्रावण १३ गते बृहस्पतिवारको दिन ठहिटी क्वावहालमा भएको थियो  । उनी  माता रेणुकादेवी राजवंशी र पिता (दिवं)शंकरमान राजवंशी को सुपुत्र हुनुहुन्छ । उनको शिक्षा शान्ति शिक्षा मन्दिर ठहिटीबाट सुरु भएको हो । आइ.ए सरस्वती बहुमुखी क्याम्पस लेखनाथ मार्गबाट र बि.ए रत्नराज्य लक्ष्मी क्याम्पस प्रदर्शनी मार्गबाट गरेका उनले एम.ए (संस्कृति) विषयमा त्रि.वि कीर्तिपुरबाट गरेका हुन । हाल उनले संस्कृति अन्तर्गत पिएच.डीको भाइवा डिफेन्स केही महिना अघि सकायको कुरा बताए। 

वि.सं २०४० सालमा पुरातत्व विभागको लिपि विशेषज्ञ पदबाट सरकारी सेवामा प्रवेश गरी २०७५ साल श्रावण देखि प्रमुख पुरातत्व अधिकृत( उपसचिव)बाट अवकाश प्राप्त गरेका उनका  

अप्रकाशित प्राचीन अभिलेख प्रकाश लगायत उहाका  थुप्रै लेखहरु नेपाली र नेपाल भाषाबाट प्रकाशित भएका छन् । कृतिको रुपमा लिच्छविकालीन संवत्को निश्चय नामक पुस्तक(२०५२)सालमा प्रकाशित भएको छ । उहासँग नेपालको ईतिहास र संस्कृतिको भ्र्महरुको बारेमा आधारित रहेर गरियको कुराकानी-    

- इतिहास संस्कृति भन्नासाथ तपाई के भनेर बुझ्नु हुन्छ ? 

इतिहास र संस्कृति भनेको उस्तै अनुहार भएको दाजुभाइ जस्तो हो भन्ने ठान्छु । इतिहासले तात्कालिक लिखित स्रोतको आड लिन्छ भने संस्कृतिले परम्परागत रीतिरिवाज तिर बढी ध्यान दिन्छ । तापनि इतिहासले संस्कृतिको आड लिनै पर्छ भने संस्कृतिले इतिहासको आड लिनै पर्छ भनेर बुझ्छु ।

- तपाईंले रातो मत्स्येन्द्रनाथको जात्रा र बन्धुदत्त आचार्यको बारेमा लेख्नु भयो । खास त्यसबारे विचारणीय कुरा के छ ?

वास्तवमा लोकेश्वर, आर्यावलोकितेश्वर करुणामयको नाम परिवर्तन गरेर मत्स्येन्द्रनाथ कहलिएको जस्तो देखिन्छ । बौद्धस्तूप, स्वयम्भुस्तूपलाई पछि बौद्धनाथ स्वयम्भुनाथ भन्नल्याए जस्तै लोकेश्वरलाई पनि मत्स्येन्द्रनाथ भन्न ल्याएको जस्तो देख्छु ।  किनकि इशाको प्रथम शताव्दी देखिनै नेपालमा आर्यावलोकतिश्वर लाई पूजागर्ने चलन भइसकेको देखिन्छ भने मत्स्येन्द्रनाथको उत्पत्ति नै १२ औ शताव्दी भन्दा माथि जान सकेको देखिंदैन । 

आर्यावलोकितेश्वर करुणामयको जात्रा शुरु भएको ७ औं शताव्दीमा राजा नरेन्द्रदेवको पालामा भएको,भोटो जात्रा १०औं शताव्दीमा गुणकामदेवको पालामा  भएको र मत्स्येन्द्रनाथको उत्पत्ति भने १२ औं शताव्दीमा भएको यसरी एक अर्कोबीच तालमेल नमिले पनि लोकेश्वरलाई रातो मत्स्येन्द्रनाथको जात्रा भन्दै आएका छन्। वन्धुदत्त आाचार्य चाहीं सातौं शताव्दीमा रथजात्रा शुरु हुंदाको समयको प्रमुख पात्र मध्येको एक हो भन्ने देखिन्छ । यस बारेमा गहन अध्ययन अझै गहन रुपले हुन सकेको देखिंदैन ।

-. विस्केट जात्रा बारेमा पनि तपाईले लेख्नु भएको छ त्यसमा तपाईको सन्देश के छ ?

इन्द्रध्वजा जस्तो लामो विश्वकेतु ध्वजा ठड्याएको परम्परा अनुसार शुरु भएको जात्रालाई मान्छेहरुले अपभ्रंस गरी बिसिका याने सर्प मरेर शुरु भएको जात्रा भन्ने प्रचार बढी भएको देखिएकोले वास्तवमा त्यो कुरा होइन  र यो जात्रा वैशाख १ गते हुने भए पनि यस जात्राको सम्वन्ध विक्रमसंवत् संग छैन यस बारे पनि गहन अध्ययन हुनसकेको छैन । 

- इन्द्रजात्राको बारेमा पनि तपाइले लेख लेख्नु भएको छ । कुमारीजात्रा नभनी इन्द्रजात्रा किन भनेको होला ?संक्षेपमा बताइ दिनुस् न ।

इन्द्रध्वजा ठड्याएर शुरु भएको जात्रा इन्द्रध्वजा ढालेर जात्रा समाप्त हुने भएकोले इन्द्रजात्रा भनेको हो । यही जात्रा भित्र प्रमुख आकर्षण भनेको कुमारी रथ जात्रा हो । तर यो कुमारी रथजात्रा धेरै पछि आएर जोडिन ल्याएको भएर कुमारी रथजात्रा नभनी प्राचीन जात्राको नाम इन्द्रजात्रा नै भन्ने चलन गरिएको हुनु पर्दछ ।

- विक्रमसंवत्को त कुनै धरातल छैन भनेर लेख्नु भएको छ ? त्यसको खास मूल कुरो के हो संक्षेपमा केही कुरा बताउनु हुन्छ कि?

नेपालमा विक्रमसंवत्को उत्पत्ति शकसंवत्मा १३५ जोडेर विक्रमसंवत् बन्छ भन्नेसूत्रबाट भएको स्पष्ट छ । लिच्छविकालमा चलेको संवत् शकसंवत् होइन तर यसलाई शकसंवत् ठानेर त्यसमै १३५ जोडेर बनाइएको विक्रमसंवत् भएकोले यसको धरातल छैन भनेको हो ।  मध्यकालका अभिलेखहरु केलाएर हेर्ने हो भने नेसं ८०८ को भक्तपुरको अभिलेखहरुमा कुनैमा एउटा विक्रमसंवत् कुनैमा अर्को लेख्ने गरिएको दृष्टान्तलाई लिन सकिन्छ । अर्को नेपालसंवत् शुरु हुंदा विक्रमसंवत् र नेपालसंवत् बीचको अन्तर ९३५ र ९३६ हुने अहिले ९३६ र ९३७ हुने प्रत्यक्ष प्रमाणले गर्दा धरातल छैन भनेको हो ।

-तपाईले कैलासकूट भवनको बारेमा पनि लेख्नुभएको छ । तपाईको विचारमा कहाँ थियो होला जस्तो लाग्छ ? 
राजविहार भनेको राजदरवार निकटको विहार हो । गोकर्ण बालुवा गाउंको अभिलेखमा स्वयं अंशुवर्माले राजविहार बनाएको उल्लेख छ । अंशुवर्माको कैलासकूट भवन त्यही निकट अवस्थित भएको हुनाले कैलासकूट भवनको विहार भएकोले राजविहार भनिएको हुनुपर्छ । नमच्चिने पिङ्को सय झड्का भने जस्तै हाडीगाउंमा धेरै पटक पुरातात्विक उत्खननहरु भए तर कैलासकूट भवनको कुनै अस्तित्व भेटिएन र गोकर्ण वालुवा गाउ जहाँ पुरातात्विक उत्खनन नै गरिएको छैन । अतः जहाँ कैलासकूट भवनको संभावना छ त्यहाँको अध्ययन नहुने खाली संभावना नै नभएको ठाउं हाडीगाउलाई मात्र लक्ष्य गरिरहनु  उचित हो जस्तो लागेको छैन ।

-साँच्चै मान्छेहरुले ३९० दिन  भएको वर्ष छ भनेर असंभव दावा गर्नेहरु छ र ? यसबारे अतिकति प्रकाश पारी दिनु न?

मैले बारम्वार भन्ने गरिरहेको छु कि संसारमा ३९० दिनको वर्ष कतै  कुनै शास्त्रमा छैन । त्यसैले ३९० कसैको अंक जाल मात्र हो । मान्छेले हिसाव गर्दै जाँदा जसो गरे पनि नमिले पछि आँखा छलाई मिल्ने अंक राखेर हिसाव मिल्यो भनी फट्याई गर्नेहरु पनि हुंदो रहेछ । त्यस्तै फट्याई गर्नेले देखाएको यो अंकजाल हो ।

किनकि शकसंवत् ५२९ को वर्षमा अधिमास छैन । यो कुरा अधिमास तालिका हेर्दा नै थाहा हुन्छ । शक ५२९ को माघ शुक्ल त्रयोदशीलाई चैत्र शुक्ल प्रतिपदा देखि गन्दै गयो भने ३१३ दिन हुन आउंछ । ३१३ लाई तिथिगण बनाएर गणना गर्दा माघ शुकल त्रयोदशीको दिन आइतवार पर्न आउनु पर्दछ तर आएन । तव संवत् ३१ को अभिलेखमा अधिमास छ भनी देखाइ ३० दिन थपेर ३१३ तिथिगणको ठाउँमा ३४३ बनाएर आइतवार आयो भन्दै दुनियाँलाई उल्लु बनाएको दुनियाँले चालै पाउन सकेन । यसरी माघ शुक्ल त्रयोदशी लाई ३४३ मानीसकेपछि चैत्र शुक्ल प्रतिपदा आउन बाँकी ४७ दिन समेत जोड्दा शक ५२९ को वर्ष भनेको ३९० दिनको हुन आउंने भयो  । यो असंभव हो , यसरी दुनियाँलाई बेवकूफ बनाउन हुंदैन । जुन व्यक्तिले बेवकूफ बनायो त्यही व्यक्तिलाई नै नेपालमा महान विद्वान कहलिनु पर्ने भनेको देश कै बेइज्जत हो । यसमा सतर्क हुनु पर्दछ ।

-कार्तिकादि र चैत्रादि जस्तो मै मान्छेहरु किन अलमलिएको होला ? अलिकति बुझाइ दिनु न ?

नेपालसंवत् कार्तिकादि हो किनकि यो कार्तिक शुक्ल प्रतिपदा देखि शुरु हुनेवर्ष हो । त्यस्तै शकसंवत् भनेको चैत्रादि हो किनकि यो चैत्र शुक्ल प्रतिपदा देखि शुरु हुने वर्ष हो । नेपालमा नेपालसंवत् थालनी हुनु अगाडि लिच्छविकालमा चलेको याने व्यवहार भइरहेको संवत् पनि कार्तिकादि थियो भन्ने कुरा साराले बुझी सकेका छन् । यसमा अलमलाउने खोजेको कुरा भनेको लिच्छविकालमा व्यवहार भएको संवत्लाई शकसंवत् भनेर त्यसैमा १३५ जोडेर विक्रमसंवत् समेत बनाइ व्यवहार गर्दै आएको कारण बूझपचाएर हुन्छ कि अनेक हरकत प्रयोग गरेर भए पनि लिच्छविकालमा चलेको संवत् कार्तिकादि भएतापनि शकसंवत् हो भनी जोडतोडले लाग्दै आएको मात्र हो शकसंवत् चैत्रादि नै हो भनेर सवैलाई थाहा छ । यो कुरा थाहा भइ भइकन पनि जसरी विक्रमसंवत् भारतमा कार्तिकादि छ नेपालमा वैशाखादि भए झैं शकसंवत् पनि भारतमा चैत्रादि भए पनि नेपालमा कार्तिकादि भनेर अल्मलाएको मात्र हो । स्पष्टै छ त्यसोभन्नेहरु स्वयंले नै जतिपनि तिथिमितिको गणना गरेका छन् त्यसमा शकसंवत् कार्तिकादि बाट गरेको उदाहरण एउटा पनि छैन । यो मान्छेलाई बेवकूफ बनाउने कुरा मात्र हो ।

-पूर्णिमान्त र अमान्तमान भनेको सामान्यतः सबैले बुझ्ने कुरा हो । तर मान्छले बुझ्न नसकेको कुरा के हो जस्तो लाग्छ ?

कृष्णपक्षको प्रतिपदाबाट महिना शुरु भएर पूर्णिमालाई ३० तिथि जनाउनेलाई पूर्णिमान्त भन्दछ । अहिलको पंचांग पात्रो पल्टायौं भने विक्रमसंवत्लाई पूर्णिमान्तमानको वर्ष बनाइएको छ । शुक्ल पक्षलाई थ्व र कृष्णपक्षलाई गा भनेर शुक्लपक्षबाट शुरु भएको महिना मुताविक अमावाश्यालाई ३० तिथि मान्ने वर्षलाई अमान्तमान भन्दछ । यसको ज्वलन्त उदाहरण भनेको नेपालसंवत्को महिना वर्ष हो । मध्यकालको अभिलेखहरु नियालेर हेर्ने हो भने नेपालसंवत् मात्र होइन कलिगत विक्रमसंवत् शकसंवत् सवै नै अमान्तमान नै छन् ।

अहिले विक्रमसंवत् पूर्णिमान्त भएकोलाई दृष्टान्त मानेर शाहकालमा नेपालमा पूर्णिमान्त व्यवहार भयो त मल्लकालमा अमान्तमान नै हो भनेर सवैले सकारे कै छन् । फट्याई गर्नेहरु हरहमेशा फट्याई गर्न मै उद्यत भइरहेका हुन्छन् । त्यो भनेको मध्यकालका तिथिमितिहरुको गणना गर्दा त्यो वेला अमान्तमान को प्रचलन थियो भनी थाहा हुंदा हुंदै पनि अमान्तमानबाट बार आएन भने पूर्णिमान्तबाट आयो भनी देखाएर दुनियालाई बेवकूफ बनाएर आएका छन् । त्यसरी बेवकूफ बनाउनेहरुलाई नै महान मान्दै आएका छन् । यो देशको इतिहासको एक प्रकारको दूर्गति हो ।   

-विक्रमसंवत् ९३७ वैशाख सम्म नेपालसंवत् ० हुन्छ भन्नु गलत भनेर थाहा हुंदाहुंदै मान्छेहरु किन त्यसकै पछि लाग्छन् ?

इतिहास भनेको माथिबाट तल पढ्दै आउने हो तलबाट माथि पढ्दै जाने बिल्कूल होइन । भनाइको अर्थ नेपालसंवत् शुरु देखि पढ्दै आउंदा विसं ९३६ कार्तिक शुक्ल  प्रतिपदा देखि पढ्दै आउने हो । तव विसं ९३७ वैशाख सम्म पुग्दा नेपालसंवत् शुरु भएर छैठौं महिना पुरा भएर सातौं महिनामा चलीरहेको स्पष्ट नै छ । यसरी ६ महिना पूरा बितीसकेकोलाई ० शून्य भन्न कुनै हालतमा मिल्दैन । 
 नेपालसंवत् १ भनेको विसं ९३६ को कार्तिक देखि ९३७ असोज सम्म रहने कुरालाई बङ्ग्याउंदैमा बाङ्गिएको होइन । अहिले नेपालसंवत् ११४४ भनेको विसं २०८० को कार्तिकदेखि २०८१ को असोजसम्म रहने देखाउंदा त्यसमा निश्चित रुपले ९३६ र ९३७ को अन्तर देखापर्ने हो । तर शुरुमा ९३५ र ९३६ मात्र अन्तर हुने भएको सत्य कसैले हेरफेर गर्न सकिने होइन । क ेकारणले कहिले देखि ९३६ र ९३७ अन्तर देखा पर्ने गरेको तिर ध्यानै नदिइकन महान इतिहासकार  भनाउंदाले भनेको भन्दै आँखा चिम्लेर त्यसको पछि लाग्नु भनेको इतिहासको मर्म मार्दै आउनु मात्र हो अरु होइन ।  

   प्रश्न १२. कतिपय मान्छेहरु उनीहरुले समाएको इतिहासको धार मात्र मूलधार हो अरु होइन भन्न थालेका छन् । त्यो भनेको खास के हो ? अलिकति स्पष्ट पारी दिनु न ।

तपाईंले सोध्न खोजेको कुरा मैले बुझें । हो संशोधन मण्डलले पस्केको इतिहास मात्र इतिहासको मूलधार हो अरु होइन भन्ने भनाइ त्यो पक्षधरहरुको  छ हो । तर यो भनाइ बिल्कूल नाजायज छ । महान इतिहासकार धनवज्र वज्राचार्यलाई समेत उहाँहरुको मूलधार भन्दा बाहिर जाने व्यक्ति हो किन भनिएन ? किनकि चाँगुनारायणको मानदेवकोस्तम्भ लेखको मिति ३८६ जेष्ठलाई संशोधन मण्डलले विसं ५२२ भन्छ भने धनवज्रले विसं ५२१ भनेको छ । तव धनवज्र समेत उहाँहरुको मूलधार भन्दा बाहिर गएको देखिने भयो । वास्तवमा उहाँहरुले लिच्छविकालमा चलेकोसंवत् शकसंवत नै हो भनी मानेर त्रुटी गर्दै आइरहेको छ । वास्तविक इतिहासको मूलधार नसमाउने त उहाँहरु नै पर्दछन् । 


- विसं २०६६ साल देखि समिति गठन गरेर एक समूह पर्वसुधार गर्ने भन्दै खूब लागीपरेका छन् ? किन यो अर्थहीन भएको अलिकति खुलाइ दिनु न ?

प्रकृतिको बिपरीत दिशामा कोही पनि जान सक्दैन, जानु हुंदैन र जान दिन पनि हुंदैन भन्ने कुराको ज्वलन्त उदाहरण यो पर्व सुधारको ध्येयले पनि  देखाएको छ । किन कि पर्वसुधार भनेर एक महिना घटाएर क्यालेण्डर बनाउने सिफारिस समेत भइ सकेको हो । यदि सिफारिस भए बमोजिम कार्यान्वयन भएको भए सम्पूर्ण प्रकृति ऋतु मौसम संस्कृति संस्कारमा मात्र खलल पुग्ने मात्र होइन  पचासौंहजार ज्योतिष पेशालाई नै धराशायी गराइ दिने गम्भीर त्रुटी हुन जाने थियो । यसमा तत्कालिन पंचांग निर्णायक समितिले जुन किसिमको ब्रेक लगाइ दिएर ठूलो कल्याण गराइ दिएको हो त्यो सह्राहनीय छ । यसको लागि मेरो विचारमा तत्कालिन पंचांग निर्णायक समितिलाई जति धन्यवाद दिएपनि त्यो कम नै हुन्छ जस्तो लाग्छ ।      

 -पशुपतिको  शंकरनारायणको मूर्ति हराइसकेको छ अभिलेख त त्यही स्थानमा छ त्यसमा तपाइको विचारमा महत्वपूर्ण कुरा के छ ?
पशुपतिको शंकरनारायणको मूर्ति र अभिलेखको विषयमा विभिन्न दृष्टिकोणले अध्ययन गरी एउटै विषयबाट नयाँ जानकारी आउनु साँच्चै स्वागत योग्य कुरा हुने थियो । तर आद्योपान्त एउटै लेख सात पटक छपाउनु भनेको राम्रो होइन । जसले लेख मागेपनि त्यहीएउटा लेख दिइ बारम्वार त्यही एउटै लेख छापिएर आउनु उचित मान्न सकिन्न । तर भइ रहेछ यही । यो अभिलेखमा संवत् ४८७ प्रथमाषाढ भनेर दिइएको छ । यदि लिच्छविकालमा चलेको संवत् शकसंवत् हो भने अभिलेखको संवत् ४८७ शकसंवत् हुने भयो । तर अभिलेखमा अधिमास उल्लेख भए पछि शक ४८७ को वर्षमा पनि अधिमास परेको देखिनु प¥यो । अधिमास क्षयमास तालिकामा शक ४८७ मा पनि अधिमास छैन र ४८८ मा पनि छैन । यतातिर भने प्रवेश नै नगर्नु भनेको उचित होइन ।   

-प्रायः इतिहासकारहरु सुमतितन्त्र र सूर्यसिद्धान्तको खुवै चर्चा गर्ने गरिएको देखिन्छ ? खास के छ यसमा ? संक्षेपमा बुझाइ दिनु होस् न ।
सुमतितन्त्रको उल्लेख किन गरियो? त्यसमा उल्लेख भएको सूर्यसिद्धान्त प्रयोग गरियो कि गरिएन ? ती कुरा वास्तै नगर्ने खाली सुमतितन्त्रको आधारमा गणना मिलाएको भनिया छ पत्याइया छ । 
केतकर लक्ष्मण छत्रेको पुस्तकमा भएको सूर्यसिद्धान्त प्रयोग गर्ने तर सुमतितन्त्रबाट गणना गरेको भनेर खुलेआम ढाँट्ने । मान्छेहरु फेरि त्यत्तिकै पत्याउने । सुमतितन्त्रमा भएको सूर्यसिद्धान्त हाल प्रयोमा छैन भनेर विद्वानहरुले भनेर आएकै हो ।

केवल सुमतितन्त्रमा ३०४ वर्ष मानदेव संवत् चल्यो भनिएको कुरा लिन बाहेक सुमतितन्त्रको अरु कुरा छेउटुप्पो केही पनि लिइएको छैन । ३०४ वर्ष मानदेव संवत् चल्यो भन्नको लागि जवरजस्ति शकसंवत् ४९८ सम्म मात्र चल्यो र नेपालसंवत्को उठान शक ८०२ मा भयो भनेर मान्नु पर्ने । किनकि ८०२ बाट ४९८ घटाइयो भने ३०४ आयो भन्नको लागि भए पनि मान्नुपर्ने । वास्तवमा शकसंवत् ४९८ सम्म मात्र चलेको कुराको पुष्टि पनि छैन र नेपालसंवत् शक ८०२ मा उठान भएको पनि होइन । यसरी बिना पुष्टि पनि मान्छेहरु अन्धाधुन्ध पछ्याउदै बस्नु बिडम्वना बाहेक अरु केही होइन भन्न सकिन्छ ।

-भक्तपुर जेलाँ पाटीको शिलालेख नक्कली भनेर तपाईले सिद्ध गर्नु भएको छ । नक्कली बनाएर राख्नुको हेतु के हो जस्तो लाग्छ ?
स्पष्टै छ कि  नेपालमा एक समूहका मान्छेहरुले कुनै तरिकाले भए पनि नेपालसंवत्लाई नेवारसंवत् भनेर सिद्ध गर्न चाहन्छ । किनकि नेपालसंवत् नामले नेवारको एकलौटी संवत् भन्ने अथ्र्याउन सकिन्न । यदि शंखधरकृत नेपालसंवत् भनियो भने नेवारको संवत् भन्न पाइएला भन्ने तीब्र आशा उनीहरुमा देखिन्छ । फेरि गाह्रो के छ भने नेपालसंवत् उल्लेख भएको अभिलेख स्रोत अनगिन्ती मात्रामा छन्, शंखधर उल्लेख भएको भने एउटा पनि छैन । त्यही भएकोले भक्तपुर जेलापाटीको शिलालेखमा संख्या जोग वसु भनेर उल्लेख भएको अलि अस्पष्ट र संख्या को सं लाई ठूलो  शं बनाइएको देखेर सालसंवत् अस्पष्ट भएकोले त्यसलाई फाइदा लिने हेतुले पुरानो शिलालेख दबाइ अर्को शिलालेख बनाएर राखे । केही वर्ष पछि शंख्वा संवत् उल्लेख भएको शिलालेख पाइयो भनी हल्लाखल्ला गरे  । यदि त्यो शिलालेखमा राजा भूपतीन्द्र मल्लको नाम पनि अस्पष्ट भइदिएको भए राजाको नाम पनि आनन्ददेव वा राघवदेव जे भनेर चाहे मुताविक  कुंद्न लगाउन  कुनै बेर थिएन । वास्तवमा नक्कली कीर्ते गरी बनाइएको शिलालेख प्रामाणिक स्रोत कुनै हालतमा बन्दैन । 

- इतिहासकारहरुले लिच्छविकालको अभिलेखमा देखिएको संवत्लाई शकसंवत् मान्दा कुनै आपत्ति छैन भनीरहेछन् तर तपाई भने शकसंवत् नै होइन भन्नु हुन्छ । खास कहाँ निर के अन्तर छ अलिकति खुलाई दिनुस् न ।
लिच्छविकालको अभिलेखमा देखिएको संवत्लाई कोही बूझ पचाइकन शकसंवत् मानीरहेका छन् भने कोही थाहा नपाएर  मानीरहेका छन् । कतिपय अभिलेखहरुमा अधिमासको उल्लेख आइरहेका छन् । ती तत् तत् अभिलेखहरुका संवत् शकसंवत् हो भन्छन् भने ती शक वर्षहरुमा अधिमास परिरहेका छैनन् । जस्तै संवत् ३९८ को वर्षको अभिलेखमा अधिमास छ तर शक ३९८ मा अधिमास परेको छैन । एवं रीतले अरु पनि अभिलेखका वर्षमा अधिमास छ तर ती वर्षलाई शकसंवत् मानेपछि ती शक वष्र्।मा अधिमास छैन । 

नेपालसंवत् १ कार्तिक शुक्ल प्रतिपदा भनेको शक ८०१ कार्तिक शुक्ल प्रतिपदा हो । यदि यो कुरा थाहा छैन भने उनीहरुलाई लिच्छविकालको अभिलेखमा भएको संवत् शकसंवत् माने पनि के नमाने पनि के कुनै अर्थै भएन । जसलाई यो कुरा थाहा छ शक ८०० को वैशाख सम्म लिच्छविकालको संवत् ३०१ वैशाख  भनेर पनि थाहा छ । यही ३०१ लाई मानदेव संवत् भन्दै आएकाहरुले मानदेवसंवत् ३०४ बीति सकेपछि नेपालसंवत् आएको पनि भनी रहेका छन् । शक ८०० वैशाख सम्म ३०१ भएको मानदेवसंवत शक ८०१ कार्तिक मै ३०४ बीति सकेको हुंदैन भनेर थाहा छ ।जसरी शक८०१ भनेको मानदेवसंवत् ३०४ हुने संभव छैन । त्यसरी नै लिच्छविकालमा चलेको संवत् पनि शकसंवत् हुने संभव होइन । तैपनि बूझ पचाएपछि के लाग्छ ।   

- यमपंचक तिहारको विषयमा जनमानसमा एकरुपता भएको धारणाको विकास किन हुन सकेन ? तपाइले मुख्य कारण औंल्याइ दिनु होस् । 
सामान्यतया तिथि टूट नभएको वेलामा यमपंचक पाँच दिन  लहरै मनाउने प्रचलन परम्परा देखि चलेर आएको हो । पहिलो दिन कार्तिक कृष्ण त्रयोदशीको दिन कागतिहार,दोस्रो दिन चतुर्दशीको दिन ककुर तिहार ,तेस्रो  औंशीको दिन विहान गाइपूजा गरेर बेलुका लक्ष्मीपूजा गरिनुलाई गाइ तिहार यस दिन नेपालसंवत् अनुसार वर्षको अन्तिम दिन पनि हो । चौथो दिन नेपालसंवत् अनुसार वर्षको पहिलो दिन कार्तिक शुक्ल प्रतिपदा भएकोले नयाँ वर्ष मनाएर कतिले म्हपूजा पनि गर्दछन् । म्हपूजागर्न नपर्नेहरु गोरुपूजा गरी गोवद्र्धन पुजा गरी मनाइ आएका छन् । पाँचौं दिन यमपंचकको अन्तिम दिन कार्तिक शुक्ल द्वितीयाको दिन भाइटिका (किजापूजा) भनेर मनाइ आएका छन् । 

अहिले आएर यसरी परम्परागत रीत मुताविक मनाउनेहरुलाई मूर्खताको संज्ञा दिन थालेका छन् । वास्तवमा उनीहरु नै कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन मनाएर यमपंचकलाई चार दिनमा झार्ने र नेपालसंवत्को अन्तिम दिन लक्ष्मीपूजा हुनुपर्ने परम्परा पनि तोड्ने गरिंदा उनीहरु स्वयं नै आफु खुसी ढंगले परम्परा तोड्ने र बडो बुद्धिमत्ता पूर्ण कार्यको पक्षपाती हुं भन्दै आएका छन् । 

- शास्त्र वचन भनेको शास्त्रमा बताइएका कुरा नै त हुन् नि होइन र? तव शास्त्र र परम्परा मुताविक तिथि मान्ने मान्यतामा पनि फरकफरक धारणा किन मौलाइरहेको होला ?
हो, शास्त्र मुताविक भन्नु पर्दा बिहान सूर्योदय हुनासाथ सूर्यले तिथि बोकेर उदय हुन्छ । अतः एक सूर्योदय देखि अर्को सूर्योदय नभएसम्म एउटै तिथि कायम हुन्छ । यो प्रचलन सबै चाड पर्वहरुमा लागु हुन्छ । उदाहरण कै रुपमा यो वर्षको यमपंचक तिहार कै कुरा गर्दा कार्तिक २५ गते त्रयोदशी उक्त दिन काग तिहार मनाइयो । उक्तदिन तिथि पो त्रयोदशी अर्को सूर्योदय नभए सम्म कायम हुन्छ । यसको अर्थ अर्को सूर्योदय नभएसम्म काग पूजा गरिरहनु भनेको होइन । भनाइको तात्पर्य उक्त दिन १३ः१५ सम्म त्रयोदशी त्यसपछि चतुर्दशी लाग्ने हुनाले १३ः१५ भित्र काग पूजा सकाइ सक्नु भनेको हो र १३ः१५ उपरान्त चतुर्दशी लाग्ने भएकोले १३ः१५ पछि कुकुर पूजागर्न हुन्छ भनेको पनि बिल्कूल होइन ।

यही अनुसार भोलिपल्ट कार्तिक २६ गते नरक चतुर्दशी भएकोले अर्को सूर्योदय नभए सम्म चतुर्दशी हो भन्दैमा अर्को सूर्योदय नभए सम्म कुकुर पूजा गरिरहँदा हुन्छ भनेको पनि होइन भनाइको तात्पर्य दिउंसो १४ः१४ भन्दा अघि कुकर पूजा सकाउनु त्यहाँ उप्रान्त औंशी लाग्ने हुन्छ भनेको हो ।  यसको मतलव १४ः१४ उप्रान्त औंशी लाग्ने हुनाले त्यही रातमा लक्ष्मी पूजागर्न हुन्छ भनेको पनि बिल्कूल होइन । सुखरात्री कालरात्री र शिवरात्री भने कै रातीको समयमा तिथि पर्दा गर्ने गरिने हो भन्ने तर्क राख्ने हरु पनि देखियो । वास्तवमा कुनै तान्त्रिक पुजा, जप ध्यान स्तोत्रहरु पाठ गर्दा तिथिको त्यही समयमा गर्नु उत्तम भनेको हो । चाडपर्व मनाउने कुरासंग ती कुराको कुनै सरोकार राख्दैन । यस्तो कुरा ल्याई दुनियाँलाई दिग्भ्रमित पार्नु हुंदैन । 
 

- नेपालसंवत्लाई धेरैले नेवार संवतै हो भनी व्याख्या गर्दै आएको देखिन्छ । वास्तवमा यसमा कतिको सत्यता छ तपाईको विचारमा ?
नेपालसंवत्लाई नेवारसंवत् भन्नु भनेको मेरो विचारमा अल्पबुद्धि नै हो जस्तो लाग्छ । किनकि नेपालसंवत्को शुरुवात हुंदा शुरु देखि नेपालसंवत् कहलिएको प्रमाण छैन । शुरुमा १ देखि संवत्को थालनि भयो १४८ पुगे पछि नेपालवत्सर भन्न थालिएको देखियो पछि त्यस्तै नेपालसंवत्सर, नेपाल देशीय आदि इत्यादि ढंगले विशेषण लाग्दालाग्दा ४९२ मा आएर बल्ल नेपालसंवत भनेर बिशेषण लागेको तथ्य अभिलेख पढ्दा थाहा हुन्छ । यसको अर्थ नेपालमा रहेका सम्पूर्ण जाति वर्गहरुको  सर्बसम्मतिमा नेपालसंवत् नामाकरण भएको हो भन्ने प्रष्टरुपले बुझ्न सकिन्छ । 

अर्को कुरा नेपालसंवत् थालनी हुंदा त्यतिवेला नेपालमा नेवार मात्रै थिए भनेर बुझ्नु पनि अल्पबुद्धि नै हो र जुनवेला नेपालसंवत् नामाकरण हुन आयो त्योवेला पनि नेपालमा नेवार मात्रै थिए भनेर बुझ्छ भने त्यो पनि अल्पबुद्धि नै हो । 

मल्लकालमा राष्ट्रियसंवत्को रुपमा व्यवहार भइरहेको नेपालसंवत् शाहकालमा आएर शाहराजाले लिच्छविकाल देखिको नेपालको परम्परागत संवत् नै व्यवहारमा ल्याए । तर नेपालसंवत् प्रयोग गर्नमा कुनै बाधा छैन स्वतन्त्र नै थिए । त्यही क्रममा विक्रमसंवत् पनि नेपालमा प्रयोग गरियो । राणाकाल मध्ये चन्द्रसमसेरको पालामा आएर विक्रमसंवत् राष्ट्रिय संवत् घोषित भए पछि भने नेपालसंवत्मा एकप्रकारको प्रतिवन्ध जस्तै हुन पुग्यो । तव नेपालसंवत्लाई राष्ट्रिय मान्यता दिलाई पाउं भनी विशेष गरि नेवारहरु अघिसरेको कारण नेपालसंवत् नेवार संवत् भनेर परिभाषित गरिन पुगेको हो । कालान्तरमा नेवारहरु पनि नेपालसंवत्लाई जसरी भए पनि नेवार संवत् कहलाउन लालायित हुंदै आएर किंकर्तव्य बिमूढ भइ शंखधरकृत नेपालसंवत् भन्नुमा चित्त बुझाउनु परेको हो । 

-राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म मिति र स्वर्गारोहण मिति थरिथरिको प्रचार भइरहेको देखिन्छ । त्यसबारे तपाईको के भनाइ छ  ?
वडा महाराजाधिराज पृथ्वीनारायण शाह नेपालको राष्ट्रनिर्माता हो भन्नु कुनै अन्यथा होइन । किनकि उनकै कुशल नेतृत्वमा छिन्नभिन्न भइरहेको नेपालका भूभागको एकीकरण भएको हो ।यही एकीकृत नेपालका नेपाली जनता हामी हुन पाउनु नै महत्व र चासोको विषय हो । उनको स्वभाव चाहे क्रूर थिएकि दयालु एकीकरण अभियान सफल हुनुसंग  त्यो चासो भएको कुरा होइन । 

यस्तो महान योद्धाको जन्म एकपटक हुन्छ भने स्वर्गारोहण पनि एक पटकमात्र भएको हो भन्नुमा कसैको विमति छैन । तर उनको जन्ममिति र स्वर्गारोहण मिति अंग्रेजी तारिख अनुसार पाठ्य पुस्तकहरुमा फरकफरक आइरहेको छ खुद जन्मपत्रिका चिना पनि फरकफरक पाइएका छन् । यो कुरा ताज्जुव मान्नु पर्ने विषय हो । स्वयं इतिहास शिरोमणि बावुराम आचार्यका पुस्तक मै पनि कुनैमा के कुनैमा के भइरहेको छ । मेरो विचारमा यस्तो हुनु ठीक होइन । इतिहास भनेको व्यक्तिको भनाइ पछिपछि लाग्ने विषय होइन प्रमाणको पछि लाग्ने विषय हो । 

- तपाईंलाई तिथि र दिन भनेको के हो नै थाहा छैन भनेर आरोप दिएको पनि देखियो । खास के हो र किन भनेको होला ?
जसले यो आरोप लगायो नि  उनी आफनो प्रभुको पक्का पृष्ठपोषक हुं भनेर आफुलाई परिचय दिन खोजेको मात्र हो । उनको भनाइ अनुसार दिनको हिसावले वर्षमा ३६५ दिन हुन्छ भने तिथिको हिसावले कहिले ३५४,३६०,३८४ त कहिले ३९० पनि हुन्छ भन्ने छ । यसको लागि पनि त सिद्धान्त भन्ने  चाहियो नि । तर त्यस्तो सिद्धान्त अघिसार्न सकेको छैन । अतः ती कुरा बिल्कूल उनको निजात्मक धारणा मात्र हो किनकि त्यो कुरा अरुलाई विस्वस्त पार्नु पर्छ भन्ने कुरा संग मतलव नभएको सिद्धान्तमात्र हो । 

चाहे दिन भनुन् वा चाहे तिथि भनुन् शक ५२९ को वर्षमा  ३९० दिन वा तिथि छ भनी सिद्ध गर्ने कुनै साधन अघि सार्न सकेको होइन ।  किनकि शक ५२९ को वर्षमा अधिमास परेको छैन । यतातिर उनीहरुको कुनै ध्यान छैन । अतः यो केवल बूझ पचाइ मात्र हो । भनिन्छ साँच्चै निदाएको मान्छेलाई उठाउन सकिन्छ तर सुतेको बहाना गर्नेलाई उठाउन ज्यान गएपनि सकिन्न भन्ने जस्तैको कुरा हो ।

शुक्रबार​ २२ मंसिर २०८० १०:४० AM मा प्रकाशित

प्रतिक्रिया