×

केन्द्रिकृत मानसिकता प्रमुख समस्या : मुख्यमन्त्री पाण्डे

images

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीयताको कार्यान्वयनमा केन्द्रिकृत मानसिकता नै प्रमुख समस्याका रुपमा देखिएको बताउनुभएको छ । 

जिल्ला समन्वय समिति कास्कीद्वारा आज पदस्थापना दिवसका सन्दर्भमा आयोजित ‘जिल्ला समन्वय समितिको भूमिका’ विषयक वैचारिक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले संविधानतः प्राप्त अधिकार उपयोग हुन नसक्दा समस्या बढेको बताउनुभयो ।
    
संविधानले व्यवस्था गरेका अधिकार सङ्घबाट बन्नुपर्ने सम्बन्धित ऐन नबनेका कारण उपयोग हुन नसकेको जनाउँदै उहाँले जसका कारण समन्वय समितिका साथै प्रदेश सरकारको औचित्य तथा भूमिकामाथि प्रश्न उठ्न थालेको बताउनुभयो ।

जिल्ला समन्वय समितिको प्रमुख भूमिका समन्वय र अनुगमन भएको उल्लेख गर्दै उहाँले उक्त भूमिकालाई पूरा गर्न साधनस्रोत र अधिकार जरुरी रहेको उल्लेख गर्नुभयो । गण्डकी प्रदेशमा ६२ कानुन बनिसकेका र ४० बन्न बाँकी रहेको उहाँले बताउनुभयो ।
    
प्रदेशका पूर्वमुख्यमन्त्री एवं प्रतिपक्षी दलका नेता खगराज अधिकारीले जिल्ला समन्वय समितिको भूमिकालाई बलियो बनाउन कानुनी प्रबन्धलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । साधनस्रोतको कमीका साथै आफ्नै साधनस्रोत बनिनसकेको अवस्था रहेको उहाँको भनाइ छ । 

समन्वय समितिको काम न्याय दिनु पनि भएको उल्लेख गर्दै उहाँले यो सकेसम्म विवादमा पर्नु नहुनेमा जोड दिनुभयो । जिल्ला समन्वय समितिका प्रमुख लीलाधर पौडेलले जिल्ला समन्वय समितिको भूमिकालाई बलियो बनाउनका लागि अधिकारको सुनिश्चिततासँगै साधनस्रोतको व्यवस्थापन आवश्यक भएको बताउनुभयो ।

जिल्ला समन्वय अधिकारी नवराज बरालले सरकारले जिल्ला समन्वय समितिको काम, कर्तव्य र अधिकार स्पष्ट हुनेगरी कार्यविधि नबनाइदिँदा समितिले प्रभावकारी रुपमा काम गर्न नसकेको बताउनुभयो । जिल्ला सभाको कोष खडा हुन नसकेको, सीमित साधनस्रोत आदि समस्याका रुपमा रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश अन्तर्गतका विभिन्न जिल्ला समन्वय समितिका प्रमुख तथा प्रतिनिधिले प्राप्त अधिकारको कार्यान्वयन, सीमित साधनस्रोत आदिका कारण भूमिका प्रभावकारी बनाउन नसकिएको धारणा राख्नुभएको थियो । 

आइतबार​ २१ साउन २०८० ०२:५९ PM मा प्रकाशित

प्रतिक्रिया