×

कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरियो, कार्की नेतृत्वको सरकार अल्पमतमा

images

विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ। एमाले नेतृत्वको कोशी प्रदेश सरकारलाई दिएको समर्थन पनि उसले फिर्ता लिएको हो। पार्टीले गरेको निर्णयलाई संसदीय दलले अनुमोदन गरेपछि माओवादी केन्द्र सरकारबाट फिर्ता भई समर्थन पनि फिर्ता लिने पार्टी प्रदेश कमिटीका सचिव गणेश उप्रेतीले जानकारी दिए ।

गत पुस २४ गते नेकपा एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्की नेतृत्वमा गठन भएको सरकारमा माओवादी केन्द्रबाट २ जना मन्त्री छन् । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीमा दुर्गाप्रसाद चापागाईं र वन, पर्यटन तथा वातावरण मन्त्रालयमा जीवन आचार्य मन्त्री छन् । दुवै मन्त्री गत माघ ६ गते नियुक्त भएका छन् । उनीहरुले आजै राजीनामा बुझाउने बताएका छन् । 
 
माओवादी केन्द्र सरकारबाट फिर्ता भएसँगै कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ । एमाले नेता  कार्की माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीको समर्थनमा गत पुस २४ मा मुख्यमन्त्री नियुक्त भएका थिए। 


९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन्। 

प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन चाहिन्छ।

मङ्गलबार २३ जेठ २०८० ०१:५२ PM मा प्रकाशित

प्रतिक्रिया