×

नेपाल साफ फुटबल च्याम्पियनसिपबाट बाहिरियो

images

काठमाडौँ, २३ माघ : नेपाल दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । लिग चरणको अन्तिम खेलमा आज भारतसँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । 

    बङ्गलादेशको ढाकामा भएको खेलमा नेपाल भारतसँग ४–० गोलअन्तरले पराजित भएको हो । जितसँगै भारत प्रतियोगिताको फाइनलमा पुगेको छ । भारतले पहिलो खेलमा भुटानलाई १०–० गोलले हराएको थियो । दोस्रो खेलमा बंगलादेशसँग भने भारत १–० गोलले पराजित भएको थियो । यस्तै नेपाल पहिलो खेलमा बंगलादेशसँग ३– १ गोलले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानसँग १–० गोलले विजयी भएको थियो । 

    भारतसँगको खेलमा पहिलो हाफमा गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा भने चार गोल खान पुग्यो । भारतका लागि नेहाले दुई तथा सुलन्जना राहुल र सिन्डी कोल्नीले एक एक गोल गरे । खेलको ५४औँ मिनेटमा भारतका लागि नेहाले पहिलो गोल गरेकी थिइन् भने ८१औँ मिनेटमा उनले दोस्रो गोल गरिन् । 

    यस्तै खेलको ८५औँ मिनेटमा सुलन्जनाले भारतका लागि तेस्रो गोल गरिन । दोस्रो हाफको अत्तिरिक्त समयमा सिन्डीले गोल गर्दै भारतलाई ४–० को सहज जित दिलाइन् । अब फाइनलमा भारतले बङ्गलादेशको सामना गर्नेछ । 

मङ्गलबार २३ माघ २०८० ०५:४७ PM मा प्रकाशित

प्रतिक्रिया