×

साढे २४ अंक घट्यो नेप्से

images

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से २४.४६ अंक (१.२५ प्रतिशत) ले गिरावट भएर १९३८.७६ अंकमा बन्द भएको छ । यस दिन २४० स्टकको २६ हजार ४७५ पटकको कारोबारमा १ अर्ब ६७ करोड ४ लाख रुपैयाँ बराबरको ४१ लाख २७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २०२ स्टकको मूल्य घटेको छ भने २७ स्टकको मूल्य बढेको छ।

शेयरमूल्य बढेका २७ स्टकको मूल्य वृद्धिदर भने न्यून रहेको छ। यस दिन सयपत्री हाइड्रोपावरको शेयरमूल्य ३.१२ प्रतिशत बढेको छ। जुन अन्य स्टकको मूल्य वृद्धिदरभन्दा बढी हो। कारोबारमा आएको अजोड इन्स्योरेन्सको शेयरमूल्य यस दिन सर्वाधिक ७.३७ प्रतिशत घटेको छ। त्यसैगरी, सिटिजन्स म्युचुअल फण्ड १, ओरियन्टल होटल र युनाइटेड इन्स्योरेन्सको मूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन रिडी पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३० करोड ८३ लाख ५७ हजार रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन शिवम् सिमेन्ट्सको २० करोड २३ लाख ४६ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

सोमबार १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.३७ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन वित्त उपसमूहको परिसूचक २.२८ प्रतिशत घटेको छ भने विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।


 

सोमबार १९ मंसिर २०७९ ०३:३७ PM मा प्रकाशित

प्रतिक्रिया