×

इन्द्रचोकमा चिनियाँहरुको झगडा : चक्कु प्रहारबाट घाइते भएकाको मृत्यु

images

काठमाडौँ- काठमाडौंको इन्द्रचोकमा हिजो तीन जना चिनियाँ नागरिकबीच भएको झडपमा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । झडपका क्रममा गम्भीर घाइते भएका २९ वर्षे चिनियाँ नागरिक गान साउसियङको मृत्यु भएको हो । उनको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । हिजो पूर्वाह्न साढे ११ बजेतिर लेनदेनका विषयमा विवाद हुँदा तीन जना चिनियाँ नागरिकबीच इन्द्रचोकमा झडप भएको थियो ।

आइतबार बिहान साढे ११ बजे काठमाडौं महानगरपालिका-२५ इन्द्रचोकमा एक चिनियाँ नागरिकले अरू दुई जना चिनियाँलाई चक्कु प्रहार गरी घाइते बनाएका थिए। तीमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। 

२९ वर्षीय गान साउजिंगको ट्रमा सेन्टरमा उपचारको क्रममा साढे ६ बजे मृत्यु भएको हो। उनी र ३२ वर्षीय लि चुआनमाथि ३७ वर्षीय फेङ्गजेङ्ग युनले चक्कु प्रहार गरेका हुन्। चक्कु प्रहार गरी साउजिंगको पेट, छाती र टाउकोको बायाँ भागमा चोट लागेको थियो। चुआनको पनि पेटमा गहिरो चोट लागेको थियो। 

प्रहरीका अनुसार उनीहरूबीच इन्द्रचोकको बाटोमा विवाद भएको थियो। विवाद बढ्दै गएपछि युनले चक्कु प्रहार गरेका हुन्। उनीहरू नेपालमा घुम्न आएका हुन्। तर बीच सडकमै आर्थिक लेनदेनको विषयमा विवाद भएपछि घटना भएको हो। उनीहरू दुई वर्ष जाम्बियामा सँगै बसेको प्रहरीले जनाएको छ। धारिलो हतियार प्रहार गर्ने फङ चुङयुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

सोमबार १९ मंसिर २०७९ ०३:०५ PM मा प्रकाशित

प्रतिक्रिया