×

प्रधानमन्त्रीको प्रचण्डको भारत भ्रमणको उपलब्धी भनेको १५ वटा राँगा ल्याउनुमात्र- अध्यक्ष केपी शर्मा ओली

images

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको उपलब्धी भनेको १५ वटा राँगा ल्याउनुमात्र भएको बताएका छन् । सोमबार प्रतिनिधिसभामा समय लिएर बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले १५ वटा राँगा ल्याउनुबाहेक अरु कुनै उपलब्धी हासिल नभएको दाबी गरे ।

‘साँच्चै ल्याएको चाहिँ १५ वटा राँगा हो । अरु कुरा त प्रधानमन्त्रीज्यू, प्रमाणित गर्नुपर्छ’ उनले भने, ‘अरु कुन चाहिँ के प्रोजेक्ट छ ?’

प्रधानमन्त्रीले भारतीय भूमिमा भूमि सट्टापट्टाको विषय उठाउनु गलत भएको ओलीले बताए । मोतीहारी अमलेखगञ्ज पाइपलाइन पहिले नै बनेकाले त्यसलाई चितवनसम्म विस्तार गर्नु ठूलो कुरा नभएको पनि ओलीले बताए ।

प्रधानमन्त्रीले भारतबाट के के ल्याएको जस्तो प्रचार गरेको तर नेपाललाई फाइदा हुने केही नभएको ओलीले बताए । साथै ओलिले प्रचण्ड को भारत भ्रमण फितलो भएको टिप्पणी गरेका छन् । बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले नेपालको पक्षमा खरो रुपमा बोल्न नसकेको बताएका हुन् ।

‘प्रधानमन्त्री ज्यूको भारत भ्रमण फितलो भयो । लिम्पियाधुरा, लिपुलेक, कालापानी यही संसद्बाट संविधान संशोधन सिंगै संसद्ले सर्वसम्मत पारित गर्यो । कसैको विरोध छैन,’– उनले भने ।

सीमान मिचेको खण्डमा पनि अहिलेको सरकार बोल्न नसकेको उनको आरोप छ । प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीसँग अड्कली–अड्कली, डराई–डराई बोलेको आरोप लगाएका हुन् ।

एमाले अध्यक्ष ओलीले बंगलादेश मोडलमा भूमि लेनदेन नभएको पनि बताए। आ-आफ्नो जमिनमा फर्किएर समाधान गरिएको उनको तर्क थियो।

‘कुनै पनि देशको सरकारलाई आफ्नो जमिन अर्कालाई दिने अधिकार हुँदैन, संविधानमा हुन सक्ने कुरा होइन, कहीँको संविधानमा पनि यस्तो हुँदैन, यस्तो कुरा उठ्नु दुर्भाग्य हो,’ उनले भने।

सोमबार २२ जेठ २०८० ०४:३६ PM मा प्रकाशित

प्रतिक्रिया