×

चैत २८ गतेदेखि प्रारम्भ हुने भक्तपुरको ऐतिहासिक बिस्का जात्राका लागि रथ निर्माण धमाधम निर्माण हुँदै

images

भक्तपुर । आगामी चैत २८ गतेदेखि प्रारम्भ हुने भक्तपुरको ऐतिहासिक बिस्का जात्राका लागि श्री भैरवनाथ र श्री भद्रकालीको रथ निर्माण धमाधम भइरहेको छ । टौमढी (स्थानीय नेवा भाषामा तःमारी) स्थित ङातापोल्हँ अर्थात् पाँचतल्ले मन्दिर परिसरमा रथ निर्माण कार्यमा सम्बद्ध पक्ष तल्लीन रहेका छन् । आठ दिन, नौ रातसम्म चल्ने बिस्काः जात्राको प्रमुख आकर्षण भैरवनाथको रथ तान्ने हो । तीनतले प्यागोडा शैलीमा बनाइने रथको उचाइ करिब ३० फिट हुनेछ । यस्तै काठबाट बनाइएका चारवटा पाङ्ग्रा १० फिट उचाइको हुनेछ ।
रथको अगाडि र पछाडि दुवैतिर मोटो–मोटो डोरी बाँधेर तान्ने गरिन्छ । फलामका उपकरण कमै मात्रामा प्रयोग हुने दुबै रथमा काठका चुकुलले एकअर्कालाई बलियोसँग ठोकेर राखेको हुन्छ ।

लिच्छवीकालदेखि सुरु भएको यो जात्रा भैरवनाथ, बेताल भैरव र भद्रकालीको मूर्ति रथमा विराजमान गराएपछि सुरु गरिन्छ । जात्राको सुरु रथ तानेर हुन्छ भने अन्त्य पनि रथै तानेर हुन्छ । रवनाथको रथ तानेर सुरु हुन्छ भने समापन पनि यही भैरवनाथको रथ तानेरै गरिन्छ । पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथलाई तानेर लैजाने परम्परा रहेको छ । बिस्काः जात्राको अर्को आकर्षणको पाटो साल तमामको दिन अर्थात् चैत ३० गते ल्योसिंखेलमा इन्द्रध्वजासहितको लिङ्गो उठाउने र उठाइएको लिङ्गो वैशाख १ गते दिनभर दर्शनका लागि राखेर साँझ ढाल्ने प्रचलन रहेको छ । वैशाख ५ गते टौमढीमा भैरवको रथ तानेर जात्रा समापन गरिन्छ ।

शुक्रबार​ २३ चैत २०८० ०१:५३ PM मा प्रकाशित

प्रतिक्रिया