×

देख्न पाउँदा हर्सित छन् वृद्धवृद्धा

images

दोलखा, २३ चैत : स्थानीय सरकारले आर्थिक अवस्था कमजोर भएका विपन्न समुदायलाई लक्षित गरी मोतिविन्दुको शल्यक्रिया गराइदिएपछि आँखा देख्न पाउँदा निकै खुसी छन् स्थानीय ८३ वर्षीय दत्ते थामी । थामीले धेरै वर्षदेखि बन्द रहेका आँखा आज खुलेर रङ्गीन संसार देख्न पाउँदा निकै खुसी भएको बताउनुभयो । उहाँले आफ्नो हराएको ज्योति फर्केर सुन्दर संसार हेर्न पाएको भन्दै चिकित्सक तथा जनप्रतिनिधिलाई धन्यवाद दिनुभयो ।

थामी जस्तै सन्चमाया थामीले पनि बन्द रहेका आँखा खुल्दा निकै खुसी भएको बताउनुभयो । जिल्लाको उत्तरी भेगमा पर्ने कालीञ्चोक गाउँपालिकाको सिङ्गटीमा सम्पन्न भएको शिविरमा ६३ जना वृद्धवृद्धा मोतियाविन्दुको शल्यक्रिया गर्न छनोट भएका थिए । विभिन्न वडाबाट छानिएका मोतियाविन्दुका बिरामीको तीन दिन कालिञ्चोक–४ मा सिङ्गटी अस्पतालमा शल्यक्रिया गरिएको अस्पतालका सिनियर अहेव ईश्वर कुमार खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार चैत १७ गतेदेखि सुरु भएको शिविरमा गाउँपालिकाका विभिन्न वडामा गएर आँखा जाँच गरी तत्काल शल्यक्रिया गर्नुपर्ने देखिएका ६३ जना बिरामीको शल्यक्रिया गरिएको हो । शिविरबाट एक सय छजना मोतियाविन्दुका बिरामी पहिचान गरिएकामा तत्काल ६३ जनाको शल्यक्रिया गर्नुपर्ने देखिएपछि निःशुल्क शल्यक्रिया गरिएको खड्काले बताउनुभयो । बाँकी बिरामीलाई आगामी दिनमा आयोजना गरिने शिविरमा शल्यक्रिया गरिने गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

कालीञ्चोक गाउँपालिकाको आयोजना तथा नेपाल नेत्रज्योति सङ्घ कीर्तिपुर र रेड्लीआई फाउन्डेसन नेपालको प्राविधिक सहयोगमा सम्पन्न आँखा शिविरमा पाँच सय ९९ ले आँखा परीक्षण गराएका आयोजकले जनाएको छ । आँखा शिविर सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न जान नसक्नेलाई लक्षित गरी सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटीले बताउनुभयो । उहाँले नेत्रज्योति सङ्घ र रेड्लीआई फाउन्डेसनलाई सहकार्यका लागि प्राविधिक सहयोगमा धन्यवाद ज्ञापन गर्नुभयो । सोही कार्यक्रममा रेड्लीआई फाउन्डेसन (युके)का प्रमुख अलिस्टार उडले ग्रामीण क्षेत्रमा आँखा शिविर सञ्चालनमा आफूले सहयोग गर्न पाएकामा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताउनुभयो ।

शुक्रबार​ २३ चैत २०८० ०५:११ PM मा प्रकाशित

प्रतिक्रिया