×

लिम्बू संस्कृति पुस्तान्तरण गर्न इलाममा महोत्सव

images


इलाम,२२ फागुन : आदिवासी लिम्बू समुदायको संस्कृति संरक्षण, प्रवद्र्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले सदरमुकाम इलाममा आदिवासी याक्थुङ÷लिम्बू सांस्कृतिक महोत्सव र किरात याक्थुङ चुम्लुङ आयोजना गरिने भएको छ । 

चुम्लुङ महासचिव निरन्ती तुम्बापोले चुम्लुङ सङ्घीय कार्यसमिति तथा आदिवासी याक्थुङ÷लिम्बू सांस्कृतिक महोत्सव मूल आयोजक समितिको आयोजना र चुम्लुङ इलाम कार्य समितिको व्यवस्थापनमा यही यही फागुन २४ र २५ गते महोत्सव तथा २५औँ राष्ट्रिय चुम्लुङ आयोजना गरिने आज यहाँ आयोजित पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।

“फागुन २५ गते साँझ सहभागी सबैलाई तरेचा (सांस्कृतिक परिकार)मा सहभागी गराइनेछ”, चुम्लुङ महासचिव निरन्ती तुम्बापोले भन्नुभयो । राष्ट्रिय चुम्लुङमा विविध विषयमा छलफल हुने उहाँको भनाइ छ । इलामस्थित चुम्लुङ अध्यक्ष बुद्धमाया सोङ्मीले पूर्वका नौ, उपत्यकाका तीन र चितवन गरी १३ जिल्लाबाट पनि सहभागिता जनाइनेछ । 

लिम्बूवान प्रदेश कार्यसमिति र नेवा–ताम्सालिङ प्रदेश कार्यसमिति, थप छ विषयगत सङ्गठनका प्रतिनिधि, विदेशस्थित चुम्लुङका प्रतिनिधि, सम्बन्धनप्राप्त लिम्बूजन्य तथा थरगत संस्थाका प्रतिनिधि, व्यवस्थापक जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्य र अन्य गरी करिब दुई सय ३० जना छलफलमा सहभागी हुनेछन् । 

“त्यसअवसरमा करिब दुई सय च्याबु्रङ नृत्य (केलाङ)सहित सांस्कृतिक कला प्रस्तुत गरिनेछ”, महासचिव तुम्बापोले भन्नुभयो, “सहभागीले तागा (पुरुषले लाउने सांस्कृतिक पोसाक) र मेख्ली (महिलाले लाउने सांस्कृतिक पोसाक) पनि प्रदर्शन गर्नेछन् ।” महोत्सवमा मालाङ (धाननाच) पनि प्रस्तुत गरिनेछ । 

चुम्लुङ सङ्घीय उपाध्यक्ष कमल तिगेलाले भन्नुभयोे, “सांगठानिक तथा प्रगति र आर्थिक प्रतिवेदन पारित गर्दै एक वर्षे नीति–कार्यक्रम तय गरिनेछ ।” 

यसका साथै मुक्कुमलुङ संरक्षण आन्दोलनको अवस्था र भावी योजना, लिम्बूवान आन्दोलन, मुन्धुम निसान हिम अवधारणा, याक्थुङ÷लिम्बू भाषा विकासको योजना बनाइने पनि उहाँले जानकारी दिनुभयो । इलाममा विजयबहादुर लिम्बूलगायतका सहिदको लिम्बुवानका लागि बलिदानको चर्चा र लिम्बू याक्थुङ भाषा अभियन्ता आसाहाङ मादेनको योगदानको चर्चा पनि गरिने उहाँको भनाइ छ । 

महोत्सव उद्घाटनका दिन इलामस्थित नारी विकास सङ्घको कार्यालयको प्राङगणबाट सुरु हुने सांस्कृतिक झाँकीसहितको प्रदर्शन इलाम चोक बजार पुगेर समारोहमा परिणत हुनेछ । इलाममा २०४६ सालमा चुम्लुङ गठन भएको हो । चुम्लुङले आदिवासी याक्थुङ÷लिम्बू समुदायको सांस्कृतिक, भाषिक, सामाजिक, शैक्षिकलगायत क्षेत्रमा लामो समयदेखि काम गरिरहेको चुम्लुङ इलामका सचिव राम योङहाङले बताउनुभयो । 
---

मङ्गलबार २२ फागुन २०८० ०३:०८ PM मा प्रकाशित

प्रतिक्रिया