×

कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने, अर्याल निर्विरोध हुने सम्भावना

images

काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षका लागि सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य उर्मिला अर्याललाई उम्मेदवार बनाउने तय भएको छ ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना एमालेबाट भएकाले उपाध्यक्षमा माओवादीलाई सघाउने एमालेले जनाएको छ । उपाध्यक्षका लागि आज मनोनयन दर्ताको समय रहेको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले जानकारी दिए । नेपाली कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको छ।

राष्ट्रिय सभा उपाध्यक्ष पदको उम्मेदवारबारे छलफल गर्न आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा संसदीय समितिको बैठक बसेको थियो । बैठकपछि कांग्रेसका प्रमुख सचेतक एवम् संसदीय समितिका पदेन सदस्य रमेश लेखकले राष्ट्रिय सभा उपाध्यक्ष पदमा उम्मेदवारी नदिने निर्णय भएको जानकारी दिए । 

राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवारको मनोनयन दर्ता आज छ। उम्मेदवारी दर्ताको समय दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्म तोकिएको छ। प्रस्ताव दर्तापछि अपराह्न ४:१५ बजे उम्मेदवारीको सूचना दर्ता क्रमअनुसार सूची प्रकाशन गर्ने कार्यक्रम तय भएको छ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यही माघ २३ गते सोमबार दिउँसो १२ बजे उपाध्यक्षको चयनका लागि मिति निर्धारण गरेका थिए।विगत एक वर्षदेखि राष्ट्रिय सभाको उपाध्यक्षको पद रिक्त छ।

आइतबार​ २२ माघ २०७९ ११:०४ AM मा प्रकाशित

प्रतिक्रिया