×

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै, आन्तरिक परामर्शमा

images

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिदै छन्। आज विश्वासको मत लिने प्रस्तावमाथि अपराहन्न ३ बजेदेखि शुरु हुने प्रदेस सभाको बैठकमा मतदान हुने छ।

५२ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री शाहले विश्वासको मत पाउने नपाउने स्पष्ट रहेको छैन। प्रदेशमा कांग्रेसका १८, माओवादीका ११, एमालेका १०, नाउपाका ७, एकीकृत समाजवादीका ४ तथा राप्रपा र स्वतन्त्रका एक एक रहेका छन् ।

अहिले मुख्यमन्त्रीलाई कांग्रेस बाहेक अन्य दलको स्पष्ट समर्थन प्राप्त रहेको छैन। नाउपाका ५ सांसद पक्षमा छन् भने २ विपक्षमा रहेका छन् । उनलाई विश्वासको मत प्राप्त गर्न आवश्यक २७ मत आवश्यक पर्दछ।

विश्वासको मत पाउने टुंगो नभएपछि  मुख्यमन्त्री शाह प्रदेश सभामा विश्वासको मत लिने वा सभालाई सम्बोधन गरेर राजीनामा घोषणा गर्ने विषयमा आन्तरिक परामर्शमा जुटेका छन् । शाहले कांग्रेस संसदीय दलको बैठक बोलाएका छन् ।

धनगढीस्थित मुख्यमन्त्री निवासमा बस्ने बैठकमा शाहले अहिलेसम्मको अवस्थाका बारेमा  ब्रिफिङ गर्दै प्रदेश सभा सदस्यसँग सुझाव लिनेछन् । मुख्यमन्त्री शाहले सरकार टिकाउनकै लागि प्रदेशसभामा सात सदस्य रहेको नाउपाका पाँच जनालाई मन्त्री बनाएका थिए ।

नाउपाका २ जना प्रदेशसभा सदस्यले मत नदिने बताइसकेका छन् । नाउपाका एक जना सांसदले पनि विश्वासको मत नदिँदा सरकार जोगिने सम्भावना रहँदैन । त्यसैमा राप्रपा र स्वतन्त्र सांसदको मत पनि मुख्यमन्त्री शाहलाई अनिवार्य छ ।
 

बिहीबार २२ चैत २०८० १०:५२ AM मा प्रकाशित

प्रतिक्रिया