×

एमाले सरकार ढाल्नेसँग गठबन्धन हुँदैन : ईश्वर पोखरेल

images

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमाले सरकार ढाल्नेसँग चुनावमा गठबन्धन नहुने बताएका छन् । भरतपुरमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले एमालेसँग गठबन्धनका लागि छलफल सुरु भएको नेकपा माओवादी केन्द्रका नेताहरूको भनाइ झुटो रहेको बताए।

उनले भने, ‘एमाले नेतृत्वमा भएको कम्युनिष्ट सरकार ढालेर कांग्रेस मूल प्रतिद्वन्द्वी हो उसलाई प्रधानमन्त्री बन भनेर उसको नेतृत्वमा सरकार बनाउने काम गर्ने, त्यो गठबन्धन कायम गर्ने अनि जसले यो काम गर्यो फेरि उनीहरुसँगै गठबन्धन हुन्छ भन्ने कुरै हुँदैन ।’ उनले भने, ‘नेकपा एमाले कुनै गठबन्धनको पक्षमा छैन एकदम प्रष्ट हुनुस् ।’‘जसले पार्टी विभाजन गरेर हुँदा खाँदाको कम्युनिष्ट सरकार ढालेर अपराध कर्म गर्‍यो त्यो शक्तिसँग गठबन्धन गर्ने भन्ने कुरै हुँदैन,’ उनले भने,

माओवादी नेता वर्षमान पुनले आत्मआलोचना गरे एमालेसँग गठबन्धन हुन सक्ने अभिव्यक्ति दिएका थिए। साथै उनले एमाले कुनै दलसँग गठबन्धन गर्ने पक्षमा नरहेको बताए । प्रचण्डले कम्युनिष्ट पार्टी विभाजन गरेर कांग्रेसलाई सत्ता सुम्पिएको भन्दै उनले माओवादी केन्द्रसँग गठबन्धन नहुने दाबी गरे । 

उनले पाँच दलमात्रै नभई निर्वाचन आयोगमा दर्ता भएका सबै दल मिलेर आएपनि प्रतिष्पर्धा गर्ने हैसियत नेकपा एमालेसँग भएको बताए। ‘पार्टीले गरेका र गर्ने कामको आधारमा जनताको विश्वास जित्ने हो,’ उनले भने, ‘गठबन्धन छ भनेर हामीलाई कुनै चिन्ता छैन।’

साथै उनले प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको चुच्चे नक्सालाई बुच्चे बनाएर भारतप्रति भक्तिभाव देखाएको आरोप लगाएका छन् । प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासमा बुच्चे नक्सा राखिएको भन्दै उनले प्रधानमन्त्रीको आलोचना गरेका हुन् ।

नेपालको संसदले सर्वसम्मत रुपले पारित भएको नेपालको चुच्चे नक्सालाई बुच्चे बनाइएको भन्दै उनले भने, ‘स्वाभिमानी मुलुकको प्रधानमन्त्रीका हिसावले जसरी भ्रमणमा प्रस्तुत हुनुपर्थ्यो त्यो गर्न सक्नुभएन ।’

सोमबार २१ चैत २०७८ ११:४४ AM मा प्रकाशित

प्रतिक्रिया