×

राजमार्गका पुल मर्मत गरिँदै

images

कञ्चनपुर, २१ माघ : कैलाली र कञ्चनपुरमा रहेका मुख्य राजमार्गका १६ वटा पुल मर्मत गरी संरक्षण गर्न थालिएको छ । सडक विभाग पुल महाशाखाको विआइएमपी–२ कार्यक्रमअन्तर्गत महाकाली पुल योजनाले पूर्व–पश्चिम राजमार्गअन्तर्गत चिसापानीदेखि गड्डाचौकीसम्मका १४ र महाकाली राजमार्गका दुई वटा गरी १६ वटा पुल मर्मतको कार्य अगाडि बढाएको हो । 

    हिमसगरमाथा कन्स्ट्रक्सन प्रालीसँग रु १६ करोड ९३ लाख १८ हजार पाँच सय ३९मा ठेक्का सम्झौता गरी पुल मर्मतका साथै सडक स्तरोन्नतिको कार्य अगाडि बढाइएको पुल योजना कार्यालयका सूचना अधिकारी तथा इञ्जिनियर कपिलप्रसाद पन्तले बताउनुभयो । “लामो समयदेखि राजमार्गका पुल मर्मत हुनसकेको थिएन”, उहाँले भन्नुभयो, “कार्यक्रमअन्तर्गत पुल मर्मत गर्न थालिएपछि यसले पुललाई दिगो तथा भरपर्दो बनाउनाका साथै पुलको आयु बढ्ने र सडक सुरक्षामा पनि सुधार ल्याउन सहयोग पुग्छ ।”
     
    सूचना अधिकारी पन्तका अनुसार सो कार्यक्रमअन्तर्गत पुल विस्तार वा प्रतिस्थापन र रेलिङ मर्मत वा प्रतिस्थापनका कार्य भइरहेका छन् । पुलको सुरक्षाका लागि नदी नियन्त्रणअन्तर्गत तटबन्ध निर्माणको कार्यलाई अगाडि बढाइएको छ । 

    सडक सुरक्षा स्तरोन्नतिलगायत सडक स्टड स्थापना, डब्लु–मेटल बीम ट्र्यास ब्यारियर, डेलिनेटर्स, पोष्ट, रोड मार्किङ र ट्राफिक चिन्ह राख्ने कार्य भइरहेको उहाँको भनाइ थियो । सो कार्यक्रमअन्तर्गत पुल मर्मतका लागि हिमसगरमाथा कन्ट्रक्सनसँग गत असार २२ गते सम्झौता भएको थियो । 

    इञ्जिनियर पन्तका अनुसार हालसम्म कार्यक्रमको भौतिक प्रगति ६० प्रतिशते छ भने वित्तीय प्रगति १८ प्रतिशत छ । मर्मत हुन थालेका पुलको कूल लम्बाइ एक हजार दुई सय १८ मिटर छ ।
 
    निर्माण कम्पनीका सञ्चालक प्रेम विष्टले निर्माणका लागि कार्यदेश पाएका बेला वर्षात्का कारण नदीजन्य पदार्थ पाउन मुस्किल भएकाले कममा केही विलम्ब भएको बताउनुभयो । “पुल मर्मतका कार्य पूरा भइसकेका छन्”, उहाँले भन्नुभयो, “कञ्चनपुरको दोदा, कैलालीका कान्द्रा, डोडा र मोहना नदीमाथि रहेका पुल सुरक्षाका लागि तटबन्ध निर्माणको कार्य अगाडि बढाएका छौँ ।” ठेक्काबापतको कार्य गरेअनुसार समयमै रकम भुक्तानी हुन नसक्दा कार्य अगाडि बढाउन अप्ठ्यारो परेको सञ्चालक विष्टको भनाइ थियो ।

आइतबार​ २१ माघ २०८० ०४:४१ PM मा प्रकाशित

प्रतिक्रिया