×

प्रचण्डले गठबन्धन छाड्नुमा हामी दोषी छैनौँ, यो गठबन्धन आयु छोटो छ- प्रवक्ता प्रकाशशरण महत

images

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले चुनावपछि पनि गठबन्धनलाई निरन्तरता दिन कांग्रेसले कोसिस गरे पनि सफल नभएको बताएका छन्। केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै आज प्रवक्ता महतले गठबन्धन छाडेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गएको बताए।

साथै प्रवक्ता महतले गठबन्धन टुटेर केही निराशा देखिएपनि अहिलेको चुनौतीलाई अवसरमा परिणत गर्ने बताएका छन् । पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘आउने निर्वाचनमा एक्लै जित्न सक्ने पार्टीको रुपमा रुपान्तरण गर्ने लक्ष्यका साथ काम गछौँ ।’

उनले प्रचण्डले गठबन्धन छाडेर जानुमा कांग्रेसको कुनै दोष नभएको प्रष्टीकरण दिए । उनले भने, ‘प्रचण्डजीले गठबन्धन छाडेर जानुभयो । उहाँ आफ्नो प्रतिबद्धताविपरीत किन गठबन्धन छाडेर जानुभयो भन्नेबारे विश्लेषण हुँदै जालान् । तर गठबन्धन टुट्नुमा कांग्रेस दोषी छैन ।

हामी कहीँ कतै पनि विचलित भएका छैनौँ। हामीले वैकल्पिक समर्थन जुटाएर नेतृत्व लिने तर्फ पनि ध्यान दिएनौँ ।’ उनले भने ‘कांग्रेस विचलित भएको छैन। हामीले कहीँ कतै पनि वैकल्पिक नेतृत्व जुटाएर प्रधानमन्त्री लिने प्राथमिकता लिएनौं,’ उनले भने, ‘अब हामी सशक्त प्रतिपक्षको भूमिका खेल्छौं। पार्टी संगठन विस्तारलगायत काम गर्छौं।’

पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारमा अवसर पाउने उद्देश्यले एक अर्कामा विपरीत धारणा राख्ने दलहरु पनि एक ठाउँमा आएको बताए । ‘यो शुद्ध अवसर केन्द्रित गठबन्धन हो भन्ने हामीलाई लागेको छ । राजतन्त्र चाहिने र राजतन्त्र कुनै हालतमा हुन्न भन्ने, संघीयता चाहिन्छ चाहिन्छ भन्ने र चाहिँदै चाहिँदैन भन्ने विभिन्न प्रकृति र दिशातर्फ उन्मुख दलहरुको शुुद्ध पदीय चाहनाबाट उन्मुख भएर गठबन्धन बनेको छ’ उनले भने ।

गठबन्धनका दलहरुमा कसले ठूलो जिम्मेवारी पाउने भन्ने विषयमा प्रतिस्पर्धा चलेको भन्दै यो गठबन्धन आफ्नै बोझबाट थिचिएको बताए । ‘यस्तो विरोधाभासपूर्ण अवस्था छ, त्यो बोझबाट नै यो गठबन्धन आयु छोटिन सक्ने प्रशस्त सम्भावना छ ।’

बुधबार २० पुस २०७९ ०३:५३ PM मा प्रकाशित

प्रतिक्रिया