×

कोशी प्रदेशका तीन मन्त्रीहरूको तोकियो जिम्मेवारी

images

विराटनगर । कोशी प्रदेशका  मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरुलाई जिम्मेवारी दिएका छन् । आइतबार मुख्यमन्त्री कार्कीले कांग्रेसबाट मन्त्री बनेका शमशेर राईलाई आन्तरिक मामिला तथा कानुन, माओवादी केन्द्रबाट मन्त्री बनेका गणेश प्रसाद उप्रेतीलाई पर्यटन, वन तथा वातावरण र एकीकृत समाजवादीबाट मन्त्री बनेका कमल प्रसाद जबेगुलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका जिम्मेवारी दिएका हुन् ।

गत असोज २७ गते नियुक्त भएका मुख्यमन्त्री केदार कार्कीले सोही दिन शमशेर राई र एमालेका राम रानालाई मन्त्री नियुक्त गरेका थिए । यस्तै कार्तिक १७ गते माअ‍ोवादी र एकीकृत समाजवादीका तर्फबाट उप्रेती र जबेगुलाई नियुक्त गरेका थिए । 

त्यसलगत्तै एमालेबाट मन्त्री बनेका राम रानाले भने राजीनामा दिएका थिए । मुख्यमन्त्री नियुक्त भएदेखि नै मन्त्रीहरूलाई जिम्मेवारी दिन नसकेका मुख्यमन्त्री कार्कीले बजेट पारित गरेर जिम्मेवारी दिएका हुन् । आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री कार्कीले आफैैंसँग राखेका छन् । 

आइतबार​ १७ मंसिर २०८० ०२:२४ PM मा प्रकाशित

प्रतिक्रिया