×

सत्ता गठबन्धनको बैठक बस्दै, रास्वपालाई सकारमा ल्याउने तयारी

images

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार, सरकारको नीति तथा कार्यक्रम, बजेट लगायत समसामयिक विषयमा छलफल गर्न बैठक आह्वान गरेका हुन् । ‘दिउँसो ३ बजे सत्ता गठबन्धनमा रहेका ५ दलको बैठक बालुवाटारमा बस्दै छ’, प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि  तिमिल्सनाले भने,  ‘नीति कार्यक्रम र सरकार विस्तारबारे छलफल हुनेछ ।’

उपनिर्वाचन पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सकारमा ल्याउने प्रधानमन्त्रीको तयारी छ । तर, रास्वपाले गृह मन्त्रालयसहित साविकका मन्त्रालय पाए मात्रै सरकारमा जाने अडान राखेको छ । यदि रास्वपा सरकारमा आए गठबन्धनमा रहेका दलबीचको भागबन्डामा साटफेर हुन सक्नेछ ।

प्रधानमन्त्री प्रचण्डले आठौँपटक विस्तार गर्दा पनि मन्त्रिपरिषद् अझै अधुरै छ। प्रधानमन्त्री प्रचण्डले हाल खानेपानी, वन तथा वातावरण, युवा तथा खेलकुद र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय आफैंले सम्हाल्दै आएका छन् ।

बुधबार २० बैशाख २०८० १२:२९ PM मा प्रकाशित

प्रतिक्रिया