×

प्रचण्डलाई माधव नेपालको चेतावनी- घमण्ड नगर्नूस् , गठबन्धन कुनै पनि बेला तोडिन सक्छ

images

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कर्णाली प्रदेशमा सरकार गठन गर्दा नेकपा माओवादीले आफ्ना सांसदलाई बेवास्ता गरेको बताएका छन् । सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा  कर्णालीमा माओवादी केन्द्रले आफ्नो दम्भ पेश गर्दै आफ्ना सांसदहरुलाई बेवास्ता गरेको नेपालले बताए ।

केन्द्रमा गठबन्धन टिकाउने कुरा भइरहँदा प्रदेशमा भने आफूहरुलाई बाइपास गरेर ‘कर्णाली सरकारमा एकलौटी गर्न खोजीएको नेता नेपालले आरोप लगाए । नेपालले गठबन्धनले जनताको पक्षमा रहेर काम गर्नुपर्ने बताउँदै सुरुमा सरकार गठन गर्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सत्ताको भुक्तभोगी भएर ओलीको शरणमा परेको टिप्पणी समेत गरे। साथै अध्यक्ष नेपालले माओवादी केन्द्रमा घमण्ड बढ्दै गएको आरोप लगाएका छन।   

‘बजेटको बाँडफाँड गर्ने, अनि यो पार्टीको कुनै अस्तित्वै छैन भन्ने ठान्ने! खासगरी माओवादी पार्टीको व्यवहारबाट हाम्रा साथीहरू धेरै दुःखित हुनुहुन्छ’, अध्यक्ष नेपालले भने, ‘म भन्न चाहन्छु– दम्भ र घमण्डले रावण जन्मायो, दम्भ र घमण्डले अर्काे रावण जन्माउने काम नगर्नूस्। त्यसो हुनाले त्यो घमण्ड छोड्नूस्, समानताको व्यवहार गर्नूस्। मिलेर अगाडि बढ्नूस्।’

उनले थपे, ‘होइन भने एकचोटि एउटाले घमण्ड गर्‍यो, उसले लोप्पा खायो। अर्काेले फेरि घमण्ड गर्‍यो, उसले पनि लोप्पा खायो। अब तेस्रो घमण्ड गर्ने, कसको पालो छ, त्यो मात्रै बाँकी छ। थाहा होला नि– पहिले केपी ओलीले घमण्ड गरे, पछि शेरबहादुरजीले घमण्ड गरे,  फेरि केपी ओलीले घमण्ड गरे, अब घमण्ड गर्ने पालो कसको छ, हेर्न बाँकी छ, त्यसैले घमण्ड नगर्नूस्।’

आफ्नो पार्टी सबै कम्युनिस्ट पार्टीलाई मिलाउन चाहिरहेको तर घमण्डी प्रवृत्तिले त्यो कुरामा बाधा पुग्ने उनले टिप्पणी गरे।  ‘सबै कम्युनिस्टलाई मिलाउन हामी चाहिरहेकै छौँ, जो जोसँग मिल्न सकिन्छ, मिल्छौँ’, उनले भने, ‘तर यस्ता प्रवृत्तिहरू कायम छ भने मोर्चा सोर्चाले पनि हावा खान्छ।’

 उनले माओवादीको व्यवहारको आलोचना मात्र नभई निन्दा गर्न मन लाग्ने बताए । यस्तैयस्तै खालका प्रवृत्तिहरु हुर्किंदै जाँदा गठबन्धन टिक्छ कि टिक्दैन भन्ने प्रश्न उठेको उनको भनाइ छ ।

तर, उनले यो मर्मको पीडा मात्र भएको बताउँदै गठबन्धनप्रति शंका गर्नुपर्ने कुरा नरहेको बताए । कर्णालीका कार्यकर्तालाई परेको पीडालाई समेत सम्बोधन गर्ने हिसाबले आफूले यो अभिव्यक्ति प्रकट गरेको उनको भनाइ छ ।

‘गठबन्धनप्रति शंका गर्नुपर्ने कुरा छैन । यहाँका कार्यकर्ताहरुलाई समेत परेको पीडालाई समेत सम्बोधन गर्ने हिसाबले प्रकट गरिहालें मैले,’ उनले भने, ‘प्रकट गरिसकेपछि पीडा र वेदना कति छ भन्ने कुरा बुझ्ने, मनलाई पनि शान्ति प्राप्ति हुने भएकाले यो प्रणालीबाट शान्ति प्राप्त गरी अब म काठमाडौंतर्फ प्रस्थान गर्ने छु ।’

बुधबार २० बैशाख २०८० ११:०५ AM मा प्रकाशित

प्रतिक्रिया