×

कमाउन र रमाउन विदेश नै जानुपर्छ भन्ने छैन : अर्थमन्त्री

images

त्रिशूली (नुवाकोट), २० फागुन : अर्थमन्त्री डा प्रकाशरण महतले ग्रामीण क्षेत्रको विकासका निम्ति सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । देशमा रोजगारीका अवसरको सृजना तथा शैक्षिक रुपान्तरणका माध्यमबाट उन्नयनको मार्गमा अग्रसर हुन सहज हुने भन्दै उहाँले कमाउन र रमाउन विदेश नै जानुपर्छ भन्ने मान्यताबाट मुक्त हुनुपर्नेमा जोड दिनुभयो । नुवाकोटको शिवपुरी गाउँपालिका–४ सिक्रेस्थित स्याउरीभूमे माध्यमिक विद्यालयको ४१औँ वार्षिकोत्सव तथा अभिभावक भेलालाई आज सम्बोधन गर्दै अर्थमन्त्रीले गाउँगाउँमा विकास र शैक्षिक गुणस्तरमार्फत युवा वर्गलाई रोजगारीमा केन्द्रित गराउने योजना तथा बजेट कार्यान्वयनमा सरकार केन्द्रित रहेको बताउनुभयो । “गाउँगाउँमा उत्पादन बढाएर गाउँका सहरमा पु¥याउनुपर्छ,” उहाँले भन्नुभयो, “पूर्वाधारको विकास र प्राविधिक–आधुनिक शिक्षामार्फत नयाँ फड्को मार्ने प्रयासमा सरकार केन्द्रित छ ।” युवालाई आफ्नै गाउँमा टिकाउन रोजगारको सिर्जनाका लागि पूर्वाधार विकास र गुणस्तरीय शिक्षा नै पहिलो आधार भएकाले सोहीअनुसार सरकारले नयाँ–नयाँ योजना कार्यान्वयनमा ल्याएको अर्थमन्त्रीले जानकारी दिनुभयो ।

“अहिले विकासको रफ्तार सुरु भएको छ । गाउँगाउँमा सडक सहितको पूर्वाधारको विकास र कृषिको आधुनिकीकरण र यन्त्रिकरणबाट उब्जनीलाई बढावा दिँदै ती सामग्री सहरमा पु¥याउनुपर्छ,” उहाँले भन्नुभयो, “सडकसहित सिँचाइ, खानेपानीलगायत ग्रामीण पूर्वाधार विकासमा चालु आर्थिक वर्षदेखि सरकारले प्राथमिकता दिएकाले मुलुकमा विकासले नयाँ फड्को मार्ने चरणमा प्रवेश गरेको छ ।

” लामो समयसम्म शिथिल बनेको देशको अर्थतन्त्रमा सुधार हुँदै गएको तथा गाउँमै केही गर्न सकिन्छ भन्ने उद्यमी पनि रहेका दृष्टान्त प्रस्तुत गर्दै अर्थमन्त्री महतले भन्नुभयो, “सुधारिएको अर्थतन्त्रले रोजगारी र उद्यमी बढ्ने क्रममा छन्, पूर्वाधार निर्माण, गुणस्तरीय शिक्षाको व्यवस्था गरेर सरकारले गाउँ केन्द्रित नयाँ कार्यक्रम सञ्चालनमा जोड दिइएको छ ।” “कमाउन र रमाउन विदेश नै जानुपर्छ भन्ने छैन,” उहाँले भन्नुभयो, “परिवार पाल्न र सन्ततिको भविष्य सुनिश्चित हुने वातावरण नेपालमा नै हुनेछ भन्नेमा विश्वास गर्न आग्रह गर्दछु ।” उहाँले व्यावसायिक कृषिमा लाग्न स्थानीय किसानलाई सुझाव पनि दिनुभयो ।

आइतबार​ २० फागुन २०८० ०५:५२ PM मा प्रकाशित

प्रतिक्रिया