×

राष्ट्रिय सहमतिको सरकारका लागि प्रयास गर्नुपर्छ: रामचन्द्र पौडेल

images

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि पहल गर्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले मुलुक राजनीतिक, आर्थिक, सामाजिक र मानवीय समस्याले घेरिएको भन्दै यो बेलामा राष्ट्रिय सहमतिको सरकार आवश्यक पर्ने बताए । 

‘धेरैलाई प्रतिपक्षमा कांग्रेस पुग्ने भएपछि यस्तो भन्यो भन्ने लाग्ला। सधैं अस्थिरता भयो, त्यसैले मैले राष्ट्रिय सहमतिको सरकार भनेको हुँ,’ निवर्तमान सभामुख र उपसभामुखहरूको संस्था स्पिकर्स फोरमको कार्यक्रममा पौडेलले भने, ‘राष्ट्रिय सहमति खोज्ने बेला आएको छ। राष्ट्रिय सहमतिको सरकारका लागि प्रयास गर्नुपर्छ।’

गठबन्धन टुटेकोप्रति संकेत गर्दै उनले राजनीतिमा एकथोक सोच्दा अर्कोथोक हुने गरेको पनि उनले बताए। ‘एकातिर अर्थतन्त्र दर्दनाक अवस्थामा छ । विश्वको मन्दी यहाँ घुम्दै आएको छ । अर्कोतिर चीनबाट उत्पन्न भएको कोरोना फेरि घुम्दैघुम्दै नेपाल आउँदैछ भनिएको छ ।

यहाँ राजनीतिक, आर्थिक, सामाजिक, मानवीय समस्याहरुले हामीलाई घेरिरहेका छन्’ पौडेलले भने, ‘यो घेरिरहेका बेला हामीले बाँच्ने उपाय के हो त ? भन्दा मलाई अझै लाग्छ, राष्ट्रिय सहमतिको खोजी गरौं ।’केही समय मुलुकका सबै राजनीतिक शक्ति मिलेर पटक पटकको राजनीतिक क्रान्तिबाट प्राप्त परिवर्तन र संविधानको रक्षा गर्नुपर्ने पौडेलले बताए । ‘म यहाँ बाहिर भएर भनिरहेको छैन, तपाईंहरु विचार गर्नुहोला । म जहाँ भएर भने पनि म एउटा नेपाली भएर भनिरहेको छु’ उनले भने, ‘अहिले पनि राष्ट्रिय सहमतिको सरकारको प्रयत्न गर्नुपर्छ । 

‘एक थोक सोच्यो अर्को थोक हुन्छ। हाम्रो हिसाब नै मिल्दैन,’ उनले भने, ‘रूखले हँसिया हतौडा र हँसिया हतौडाले रूखलाई भोट हालेको हो, आ-आफ्नो सिद्धान्तविपरीत पनि भोट हालियो। झण्डै बहुमत थियो। दुई/चार सिट मिलिहाल्थ्यो तर एकाएक गठबन्धन हाइज्याक भयो।’ उनले सत्ताभन्दा व्यवस्थाको चिन्ता लागेको पनि बताए।

मङ्गलबार १९ पुस २०७९ ०२:०३ PM मा प्रकाशित

प्रतिक्रिया