×

प्रतिनिधिसभा समानुपातिक मतगणना अन्तिम चरणमा, ७ दल भए राष्ट्रिय पार्टी भए (सूचीसहित)

images

काठमाडौं । प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। पछिल्लो मतपरिणामअनुसार ७ वटा दलले राष्ट्रिय दल बन्ने निश्चित भइसकेको छ। साथै प्रतिनिधि सभाको १६५ मध्ये १६२ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ ।

स्याङजा, दोलखा र बाजुराको मत गणना जारी छ ।  समानुपातिक तर्फपनि झन्डै एक करोड सात लाख मत गनिसकिएको  निर्वाचन आयोगले जनाएको छ । गनिएको समानुपातिक मतमध्ये झन्डै साढे चार लाख मत बदर भएको निर्वाचन आयोगले जनाएको छ ।

अहिलेसम्म १ करोड ३ लाख ८२ हजार ८५ मत गन्दा एमालेले २७ लाख ७३ हजार ९९९ मत ल्याएर अग्रता कायमै राखेको छ। दोस्रोमा रहेको नेपाली काँग्रेसले २६ लाख ४४ हजार २४१, तेस्रोमा रहेको माओवादीले माओवादी केन्द्रले ११ लाख ६१ हजार २५६ मत प्राप्त गरेको छ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १९ हजार ९९६, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८५ हजार ९२१, जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९३१ र जनमत पार्टीले ३ लाख ९४ हजार ३४५ मत ल्याएर थ्रेसहोल्ड कटाउने निश्चित भइसकेको छ।

आठौं स्थानमा रहेको  माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी भने थ्रेसहोल्ड कटाउने प्रयासमा छ । यद्यपि अहिलेकै अनुपातमा यो पार्टीले थ्रेसहोल्ड कटाउने सम्भावना क्षीण बनेको छ । यो पार्टीले शुक्रबार बिहानसम्म २ लाख ९४ हजार ६३ मत पाएको छ । उसलाई थ्रेसहोल्ड कटाउन अझै २० हजारको हाराहारीमा मत चाहिने देखिन्छ । थ्रेसहोल्ड कटाउन खसेको सदर मतको ३ प्रतिशत कटाउनुपर्छ। यस्तै, नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६५८ र लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ६७ हजार २७८ मत प्राप्त गरेको छ।

शुक्रबार​ १६ मंसिर २०७९ ११:५८ AM मा प्रकाशित

प्रतिक्रिया