×

युगेन्द्र क्षेत्री अनुवाद अन्तर्राष्ट्रिय पुरस्कार डा. अभि सुवेदीलाई र लक्ष्मीकान्त जोशी राष्ट्रिय अनुवाद पुरस्कार गोकुल सिन्हालाई प्रदान गरिने

images

 

२०८० असोज १५, सिलगढी, दार्जिलिङ । 
युगेन्द्र - लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठी सिलगढी, भारतले प्रदान गर्न लागेको युगेन्द्र क्षेत्री अनुवाद अन्तर्राष्ट्रिय पुरस्कार वरिष्ठ अनुवादक एवम् साहित्यकार डा. अभि सुवेदीलाई प्रदान गर्ने निर्णय गरेको छ । यो पुरस्कारमा नगद भारु एक्काइस हजार राशिसहित स्मृति चिन्ह प्रदान गरिनेछ । 

सो निर्णय गुठीका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले गरेको हो । 

यसैगरी गुठीले लक्ष्मीकान्त जोशी राष्ट्रिय अनुवाद पुरस्कार अनुवादक एवं वरिष्ठ सर्जक डा. गोकुल सिन्हालाई प्रदान गर्ने निर्णय गरेको छ । यो पुरस्कारमा नगद भारु एघार  हजार राशिसहित सम्मानपत्र र  स्मृति चिन्ह प्रदान गरिनेछ । सो निर्णय संवाद सन्जाल परिवार चयन समितिको सिफारिसमा गरिएको हो । सो समितिमा ललिता जोशी, लतिका जोशी, युवराज काफ्ले, जीवन राणा, शरद छेत्री, शुक्रराज दियाली र खेम सापकोटा रहनुभएको छ । 

युगेन्द्र क्षेत्री अनुवाद अन्तर्राष्ट्रिय पुरस्कार आफ्ना श्रीमान युगेन क्षेत्रीको नाममा र लक्ष्मीकान्त जोशी राष्ट्रिय अनुवाद पुरस्कार आफ्ना पिता लक्ष्मीकान्त जोशीका नाममा सूचना संवाद संजालकी सम्पादक साहित्यकार ललिता क्षेत्रीले स्थापना गर्नुभएको हो । 

कविता, नाटक, निबन्ध र कला चेतनाका सन्धिस्थल डा. सुवेदी प्राज्ञिक चेत भएका व्यक्ति हुनुहुन्छ । नेपाली शिक्षा, सिर्जना, र प्राज्ञिक वृत्तमा उहाँको उपस्थिति रहेको छ । अराजक जस्तो जिन्दगी बिताउने डा. सुवेदी समालोचक, चिन्तक र समीक्षक हुनुहुन्छ । सफल अनुवादकका अलावा कवि, नाटककार र निबन्धलेखक पनि हुनुहुन्छ । 

अङ्ग्रेजी र नेपाली भाषामा बराबर कृतिका लेखक डा. सुवेदीको मूलतः समालोचना मुख्य विधा हो । उहाँ नेपाली भाषामा पाश्चात्य समालोचनाका नवचिन्तनलाई भित्राउनेमध्ये एक हुनुहुन्छ । यसैले उहाँलाई नवीन चेतनाको अग्रदूत पनि भनिन्छ । 

डा. सुवेदीका नेपाली लिटरेचर ब्याकग्राउण्ड एण्ड हिस्ट्री, पाश्चात्य काव्य सिद्धान्त, सिर्जना र मूल्यांकन, निबन्धमा उत्तरवर्ती कालखण्ड, साहित्य र आमवृत्त, निबन्ध र टुँडिखेल, कार्पेट टाँगिएको आकाश, माध्यम र रचना, अग्निको कथालगायतका कृतिहरू प्रकाशित छन् । 

यस्तै उहाँले अरस्तुको काव्य सिद्धान्तको नेपालीमा अनुवाद गर्नुभएको छ । यस्तै उहाँले अङ्ग्रेजी भाषामा विभिन्न फुटकर रचनाको अनुवादका अलावा ५१ कविका अङ्ग्रेजीमा "Poems of the Century" को अनुवाद गर्नुभएको छ । 

यस्तै उहाँका Kathmandu Odyssey, Dreams Kathmandu,  Dream of Peach Blossoms, Bruised evenings, An anthology of SAARC poetry 2002- SAARC kabita 2002 लगायत अनुवाद कृतिहरू प्रकाशित छन् । 

अर्का पुरस्कृत वरिष्ठ सर्जक एवं अनुवादक डा. गोकुल सिन्हा सन् १९४० मा खरसाङ, दार्जीलिङमा जन्मिनु भएको हो । कविता, लघुकथा, निबन्धमा कलम चलाउनु हुने डा. सिन्हाले बाइबल, गीताको नेपाली भाषामा अनुवाद गर्नुभएको छ भने नेपाली रामायणको पहिलोपटक अङ्ग्रेजी भाषामा अनुवाद गर्नुभएको छ । 

The Ramayana of Bhanubhakta (२०१५) उहाँको प्रकाशित अनुवाद कृति हो । नेपाली, हिन्दी र अङ्ग्रेजी भाषामा साहित्य सिर्जना गर्नु हुने डा. सिन्हाको Beside Ghalib (1987), Tagore (1997), Dovkota (2009), Tha Quran (1980, the first ever in Nepali), The Bible (2000 & 2002, in association with the World Bible Translation Centre) and the Gita (2008, in Jhyaure, a Nepali folk meter) रहेका छन् । यस्तै अन्य थुप्रै फुटकर रचनाहरूको पनि अनुवाद गर्नुभएको छ । उहाँका विभिन्न विधाका २५ पुस्तक प्रकाशित रहेका छन् । 

अनुवादक सिन्हाले पछिल्लोपटक 'The Ramayana of Bhanubhakta'  (2015) को अनुवाद गर्नु भएको छ । नेपाली रामायणको अङ्ग्रेजीमा अनुवाद यो पहिलो मानिन्छ । यस्तै ‘A Treatise on Nepali Language’ (1978) and ‘Role of the Gorkhas in Making of Modern India’ (2006)को पनि अनुवाद गर्नुभएको छ । 

यस्तै सम्पादनमा ‘A Lexicon of Linguistic and Literary Terms’ (2004), ‘An Intensive Course in Nepali’ (2003) and ‘Nepali Annotated Cultural Vocabulary’ (2008) रहेका छन् । 

यसअघि युगेन्द्र क्षेत्री अन्तर्राष्ट्रिय अनुवाद पुरस्कारबाट प्रा. डा. गोविन्दराज भट्टराई र लक्ष्मीकान्त जोशी राष्ट्रिय अनुवाद पुरस्कारबाट जीवन नामदुङ पुरस्कृत हुनुभएको थियो ।

सोमबार १५ असोज २०८० १२:४३ PM मा प्रकाशित

प्रतिक्रिया