×

बालेनको बयान,यथार्थ कि ‘स्टन्ट’

images

काठमाडौं । सामाजिक सञ्जालमा विभिन्न स्टाटस राखेर चर्चामा आइरहने काठमाडौं महानगरपालिका मेयर बालेन साह शनिबारको सामाजिक सञ्जालमा राखेको स्टाटसले झनै चर्चामा छन्। ‘मेयर पोजिसनबाट मलाई आज राजीनामा दिन लगाउन खोजिँदै छ, यो देश कहिल्यै पनि बन्दैन’ भन्ने स्टाटससँगै यसको तीव्र चर्चा चलेको हो।

कतिपयले मेयरलाई समस्यामा पारेर काम गर्न नदिन खोजेको भन्दै आक्रोश पोखेका छन् भने कतिपयले मेयर साहले चर्चामा आउन यस्ता स्टाटस राख्ने गरेको दाबी गर्छन्। मेयर साहले कसले र किन उनलाई राजीनामा दिन लगाउन खोज्दै छन् भन्ने खुलाएका छैनन्।

साहले शनिबार सामाजिक सञ्जाल राखेको उक्त स्टाटसमा हजारौं सेयर भएका छन् भने त्यसमा हजारौं प्रतिक्रिया पनि आएको छ। धेरैले उनलाई राजीनामा नदिई डटेर बस्न सुझाएका छन्। ‘मेयरज्यू, जनमत र जनविश्वासभन्दा ठूलो केही छैन’, सामाजिक सञ्जालमा विनोद रिमालको प्रतिक्रिया छ, ‘कसैले हट भन्दैमा हट्नु पर्दैन, हट्ने होइन डट्ने हो।’

केहीले भने मेयर साहले चर्चामा आउन बोलेको प्रतिक्रिया दिए। ‘यो शान्त तलाउमा ढुंगा प्रहार गरेर लहर ल्याउन खोजेको जस्तो हो, ‘सामाजिक सञ्जालमा सन्तोष आले लेख्छन् , ‘यस्ता लहर धेरै टिकाउ हुँदैनन्।’

संविधानले स्थानीय तहका पदाधिकारीको पद रिक्त हुने अवस्था राजीनामा, मृत्यु वा पदावधि सकिए मात्र भनेको छ। संविधानको धारा २१६ को उपधारा ८ मा स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यहरूको पद निजले राजीनामा दिएमा, मृत्यु भएमा र पदावधि सकिएमा रिक्त हुने प्रस्ट व्यवस्था छ।

त्यसैगरी राजनीतिक दलसम्बन्धी ऐन २०७३ ले भने संघीय संसद्, प्रदेशसभा र स्थानीय तहमा निर्वाचित प्रतिनिधिले निर्वाचित भएको दल त्याग गरेमा स्वतः पद रिक्त हुने भनेको छ, तर बालेन स्वतन्त्र उम्मेदवार भएको अवस्थामा उनलाई ती ऐनले छुने छैन।

स्थानीय तह निर्वाचन ऐन २०७३ मा निर्वाचनका बखत जुन दलको चुनाव चिह्न लिएर उम्मेदवार भएको हो, सम्बन्धित दलले कारबाही गरेमा पद रिक्त हुने भनिएको छ। लौरो चिह्न लिएर उठेका स्वतन्त्र उम्मेदवार यो ऐनका आधारमा पनि राजीनामा दिन बाध्य हुँदैनन्।

बालेनका निकट सहयोगी कुमार बेनले अनधिकृत रूपमा कब्जा गरिएका सार्वजनिक जग्गा फिर्ता गरिरहँदा विभिन्न व्यक्ति र समूहबाट दबाब आइरहेको बताएका छन्। थुप्रैपटक परिवारका सदस्यहरूलाई समेत ज्यानको धम्की र मानसिक यातना दिइएको उनको भनाइ छ।

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डे पनि मेयरको स्टाटसका बारेमा आफूले केही नबोल्ने बताउँदै कानुनी ढंगबाट काम गर्न पाउने कि नपाउने भन्ने प्रश्न मुख्य रहेको बताउँछन । नागरिक दैनिकबाट

 

 

बिहीबार १८ फागुन २०७९ ०८:३४ AM मा प्रकाशित

प्रतिक्रिया