×

बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच के छलफल भयो ?

images

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा छलफल भएको छ ।

पछिल्लो समयको राजनीतिक परिस्थिति, अमेरिकी अनुदान परियोजना एमसिसी र स्थानीय तहको निर्वाचनको विषयमा छलफल गर्न यी तीन नेता बालुवाटारमा पुगेका थिए । पहिले बालुवाटारमा देउवासँग छलफलका लागि पुगेका प्रचण्डले नै नेपाललाई पनि छलफलमा बोलाएका थिए ।

स्थानीय तहको निर्वाचनको विषयमा यसअघि नै यी तीन नेताबीच छलफल भएको थियो, गठबन्धनले पनि जेठमा नै स्थानीय तहको निर्वाचन गर्ने प्रस्तावलाई स्वीकार गरिसकेको छ ।

तर, संसदबाट अमेरिकी अनुदान आयोजना पारित गर्ने विषयमा गठबन्धनमा मतभेद देखिएको छ । कतिसम्म भने यसले गर्दा गठबन्धन नै टुट्ने त होइन भन्ने आशंकासमेत गर्न थालिएको छ । यही विषयमा छलफल गर्न यी तीन नेता बुधबार बालुवाटारमा जम्मा भएका थिए ।

छलफलमा गठबन्धनको विषयमा छलफल भएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन् । बैठकपछि अनेरास्ववीयुले आयोजना गरेको रक्तदान कार्यक्रममा पुगेका नेपालले बैठकमा यो विषयमा छलफल भएको तर अहिले गठबन्धन नटुट्ने बताएका छन् ।

‘दिनदिनै पत्रपत्रिकामा अनेक समाचार सुनेर कतिपयको दिमाग खराब हुने गरेको छ, हामीले पाँच दलीय गठबन्धन निर्माण गरेका छौँ,’ उनले भनेका छन्, ‘यो गठबन्धन टुट्नेवाला छैन ।’

उनले प्रचण्ड र देउवासँग भएको छलफलमा पनि यो विषयमा कुराकानी भएको बताएका छन् । बाहिर आएका कुरा मनगणन्ते भएको भन्दै उनले गठबन्धनलाई थप बलियो बनाएर लैजाने कुरामा छलफल भएको बताएका छन् ।

छलफलमा एमसिसीबारे पनि कुराकानी भएको थियो । बालुवाटार स्रोतका अनुसार यस विषयमा यी तीन नेताको कुनै निष्कर्ष भने निस्किएन ।

बुधबार १९ माघ २०७८ ०३:२८ PM मा प्रकाशित

प्रतिक्रिया