×

नेप्सेमा दोहोरो अंकको वृद्धि

images

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । बुधबार ३.५१ अंकले घट्दै १९४९.८५ विन्दुमा झरेको नेप्सेमा आज ११.२२ अंकले वृद्धि हुँदै १९६१.०६ विन्दुमा उक्लिएको हो । यस दिन कारोबार रकम पनि एक अर्ब रुपैयाँ माथि पुगेको छ। अघिल्लो दिन ८४ करोडको कारोबार भएकोमा बिहीबार १ अर्ब ३२ करोड रुपैयाँको ३८ लाख ६५ हजार कित्ता शेयर खरिद बिक्री भएको छ।

पछिल्लो समय शेयर बजारमा खासै ठुलो उतारचढाव देखिदैन। लगानीकर्ताहरु नयाँ सरकारको गठनको प्रतिक्षामा देखिएका छन्। जसले गर्दा नेप्से सूचकले गति लिन सकेको छैन। बिहीबार अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा सुधार आएको अभिव्यक्ति दिँदा समेत त्यसले शेयर बजारमा सकारात्मक प्रभाव पारेको देखिन्छ।

बिहीबार धौलागिरी लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने स्वयत गँगा हाइड्रोपावरको पनि ९ प्रतिशतभन्दा धेरैले बढेको छ। यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेशन, स्वाभिमान लघुवित्त, मनकामना लघुवित्तको शेयरमूल्य पनि उच्च दरले बढेको छ। यता घलेम्दी हाइड्रोको शेयरमूल्य सबैभन्दा बढी २.६३ प्रतिशतले घटेको छ भने रुरु जलविद्युत, सयपत्री हाइड्रोपावर र इन्फिनीटि लघुवितकाे मूल्य पनि उच्च दरमा घटेको छ।

बिहीबार नबिल बैंकको सबैभन्दा धेरै १४ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने हिमाल दोलखा हाइड्रोपावरको ७ करोड ७१ लाख, हिमालयन डिस्टिलरीको ७ करोड र नेश्डो लघुवित्तको ४ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ। यस दिन कारोबारमा आएका १३ उपसमूहमा ३ उपसमूह नकारात्मक देखिएका छन् भने बाँकी १० उपसमूहको सूचक सकारात्मक देखिएको छ।

बिहीबार १५ मंसिर २०७९ ०४:१५ PM मा प्रकाशित

प्रतिक्रिया