×

 नेकपा एमालेको घोषणापत्र- नेपाली झण्डासहितको पानीजहाज चलाउने घोषणा (पूर्णपाठसहित)

images

काठमाडौं। नेकपा एमालेले आगामी पाँच वर्षमा गर्ने महत्वाकांक्षी योजना समेटिएको घोषणापत्र मंगलबार सार्वजनिक गरेको छ । घोषणापत्रमार्फत एमालेले ५ वर्षमा गरिछाड्ने २० काम स्पष्ट पारेको छ । यस्तै कामका ३० क्षेत्र र २४७ प्राथमिकता पनि छुट्याएको छ । 

मंगलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणा प्रविधिबाट सार्वजनिक गरेका हुन् ।   

आगामी निर्वाचनको घोषणापत्रमार्फत एमालेले छिमेकी मित्रराष्ट्रहरूको सामुद्रिक बन्दरगाह प्रयोग गरी नेपाली झण्डासहितको पानीजहाज सञ्चालनमा ल्याइने प्रतिबद्धता जनाएको हो । नेपालका प्रमुख नदी हुँदै गङ्गाबाट कलकत्ता बन्दरगाह र समुद्रसम्मको जल यातायात सञ्चालन गरिने घोषणापत्रमा उल्लेख गरिएको छ ।

यस्तै विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रवर्द्धन गर्ने योजनासमेत अघि सारिएको छ । ‘सहरी क्षेत्रमा ठूला विद्युतीय सवारीसाधन सञ्चालन गर्न प्रोत्साहन गरिनेछ । मोटरबाटो लैजान नमिल्ने तथा सडक पुग्न कठिन बस्तीहरूमा स्तरीय पदमार्ग, केबुलकार र अन्य वैकल्पिक प्रबन्ध गरिनेछ’, घोषणापत्रमा लेखिएको छ ।

गतिशील अर्थतन्त्र र सेवा विस्तारका लागि यातायात पूर्वाधार विकास अपरिहार्य भएको घोषणापत्रमा उल्लेख छ । ‘एमाले यातायात क्षेत्रको विकासलाई अन्य क्षेत्रको विकास र समृद्धिको प्रस्थान विन्दु मान्दछ । सडक, रेलमार्ग, विमानस्थल र जलमार्गका आधुनिक पूर्वाधार निर्माण र विस्तार गरी समग्र विकासलाई तीव्र गति दिइनेछ, राष्ट्रिय भावना र एकतालाई सुदृढ गरिनेछ’, घोषणापत्रमा उल्लेख छ ।

एमालेले काठमाडौं उपत्यकामा रेल र सहरी केबलकार सञ्चालन गर्ने घोषणासमेत गरेको छ । घोषणापत्रमा लेखिएको छ, ‘सबै महानगरहरूमा काठमाडौं उपत्यकामा मेट्रो रेल, सहरी केवलकार एवं पड वे जस्ता आधुनिक परिवहन सेवा सञ्चालनको लागि आवश्यक अध्ययन गरी कार्यान्वयन गरिनेछ ।’

निर्माणाधीन पूर्व-पश्चिम विद्युतीय रेलमार्गको बर्दिवास-निजगढ खण्डको निर्माण कार्य सम्पन्न गरी रेल सञ्चालन गरिने एमालेले प्रतिबद्धता जनाएको छ। निजगढ बुटवल खण्डको निर्माण कार्य अघि बढाइने र रसुवागढी-काठमाडौं रेलमार्ग र वीरगञ्ज-काठमाडौं रेलमार्गको निर्माण प्रक्रिया सुरु गरिने उल्लेख गरिएको छ ।

घोषणा पत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको छ । करिब २० हजार शब्द रहेको घोषणा पत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ । घोषणा पत्रमा सूर्य चिन्हमा किन मतदान गर्ने भन्ने कुरालाई प्रस्ट्याउने प्रयास गरिएको बताइएको छ ।

 

पूर्णपाठ

मङ्गलबार १५ कात्तिक २०७९ ०७:३० PM मा प्रकाशित

प्रतिक्रिया