×

नेपाल– भारत सीमामा राष्ट्रिय झन्डा

images


इनरुवा (सुनसरी), १८ फागुन : नेपाल–भारतको सीमासँगै रहेको सुनसरीको मुख्य नाका कोसी–८ भण्टाबारीस्थित तीनकुनेमा आज राष्ट्रिय झन्डा राखिएको छ ।

    प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको पहलमा सीमा क्षेत्रमा राष्ट्रिय झन्डा राखिएको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो । राष्ट्रिय झन्डा सबै नेपालीको मान, सम्मान एवं स्वाभिमान प्रतिबिम्बित गर्ने भएकाले आवश्यकताअनुसार निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो । 

    सीमा नाकामा देखिएको समस्या समाधान ध्यान केन्द्रित रहेका बेलामा जिल्ला सुरक्षा समितिले सुरु गरेको सीमा क्षेत्रको पैदलयात्राका क्रममा भारततर्फको सीमा क्षेत्रमा भारतको झन्डा भएको र नेपालतर्फको सीमा क्षेत्रमा झन्डा नभएका बेलामा राष्ट्रिय झन्डा राखिएको प्रजिअ अर्चायले बताउनुभयो ।  

    आगामी दिनमा पनि सुनसरीका विभिन्न सीमा नाकामा राष्ट्रिय झन्डा राख्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यक्रममा कोसी प्रदेशसभा सदस्य हाजी इस्राइल मन्सुरी, नेपाली कांग्रेस सुनसरीका सचिव वीरेन्द्र शाह, कोसीका अध्यक्ष ऐयुब अन्सारी, उपाध्यक्ष अनितादेवी यादव, सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीलगायतको सहभागिता थियो ।

शुक्रबार​ १८ फागुन २०८० ०६:३७ PM मा प्रकाशित

प्रतिक्रिया